भालेश्वर मन्दिरमा महाआरतीः केबलकार टिकटमा २५% छुट, टिकट मूल्य ४ सय

काठमाडौँ । साउन महिनाको अन्तिम सोमबारको अवसरमा चन्द्रागिरी भालेश्वर मन्दिर परिसरमा विशेष भक्ति उत्सव तथा महाआरती कार्यक्रम आयोजना गरिने भएको छ ।

चन्द्रागिरी हिल्स लिमिटेडको आयोजनामा हुन लागेको यस कार्यक्रम सोमबार साउन २६ गते सम्पन्न हुनेछ ।

साउन महिनाको पवित्रता र भगवान शिवको महिमा झल्काउने उद्देश्यले आयोजना गरिँदै आएको यो विशेष कार्यक्रम यसअघि पनि तीनवटा सोमबार भव्य रूपमा सम्पन्न भइसकेको आयोजकको भनाइ छ । भक्तजनहरूको उत्साहजनक सहभागिता रहेकाले अन्तिम सोमबारलाई अझ विशेष र भक्ति–मय बनाउन लागिएको बताइएको छ ।

कार्यक्रम अन्तर्गत पूरै दिन मन्दिर परिसरमा भजन–कीर्तन हुनेछ भने साँझ ६ः३० बजेपछि विशेष महाआरती आयोजना गरिनेछ । भक्तजनहरूलाई महाआरतीमा सहभागी हुन आयोजकले हार्दिक आमन्त्रण गरेको छ ।

साथै, चन्द्रागिरी हिल्स लिमिटेडले भक्तजनहरूको सुविधालाई ध्यानमा राख्दै सोमबार साँझ ४ बजेपछि केबलकार टिकटमा विशेष छुटको व्यवस्था गरेको छ । टिकट मूल्य केवल ४०० रुपैयाँ निर्धारण गरिएको छ, जुन नियमित शुल्कभन्दा २५ प्रतिशत कम हो ।

चन्द्रागिरी हिल्स लिमिटेडले सबै श्रद्धालु भक्तजनहरूलाई समयमै उपस्थिति भई दर्शन, भजन तथा महाआरतीमा सहभागी भई आध्यात्मिक ऊर्जा प्राप्त गर्न हार्दिक निमन्त्रणा गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 6 =