मानव बेचबिखनका प्रक्रियाहरु फेरिएको भन्दै सांसदहरुले गराए ध्यानाकर्षण

काठमाडौं । नेपालबाट हुने मानव बेचबिखनका प्रक्रियाहरु फेरिएको भन्दै सांसदहरुले सरोकारवालाहरुको ध्यानाकर्षण गराएका छन् ।
पछिल्लो समय लिभिङ टुगेदर, विवाह, अंग प्रत्यारोपण लगायतका बहानामा मानव तस्करी हुने गरेको उनिहरुको भनाई छ ।
शुक्रवार महिला तथा सामाजिक मामिला समितिले गरेको मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी विद्यमान कानूनी जटिलता सम्बन्धी छलछफमा सहभागी सांसदहरुले यस्तो बताएका हुन् ।
उनिहरुले भारत, चीन लगायतका देशमा मानव तस्करी हुने गरेको उल्लेख गर्नुभएको छ । छलफलमा सहभागी समिति सदस्य एवं नेकपा एमाले सांसद शोभा ज्ञवालीले मानव बेचबिखन भारतमा मात्रै नभएको बताइन् ।
मानव बेचबिखनका प्रक्रियाहरु अहिले अलगअलग किसिमले भइरहेको उल्लेख गर्दै उनले मावन अंगहरु बेचबिखन हुने गरेको बताइन् । ‘मानव बेचबिखन भारतमा मात्रै छैन । मानव बेचबिखनका प्रक्रियाहरु अहिले अलग अलग किसिमले आइरहेका छन् । मावन बेचबिखन चाहीँ अहिले अंगहरु पनि बेचबिखन गर्ने कुराहरु आइरहेका छन्’ उनले भनिन् ।
छलफलमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले भिजिट भिसामा पैसा तिरेर गएका कतिपय महिलाहरुलाई यौन व्यवसायमा लाग्न बाध्य गराइएको बताइन् । भिजिट भिसाबाट पैसा खर्च गरेर भारतको बाटो हुँदै धेरै महिलाहरु तस्रो मुलुक जाने गरेको उनको भनाई छ ।
त्यसरी जाने कतिपय महिलाहरुलाई जबरजस्ती यौनजन्य पेशाहरुमा लगाइने गरेको पाइएको उनले बताइन् । कानुन बनाउँदा यसलाई पनि कसरी समावेश गर्ने भन्नेतर्फ ध्यान दिनुपर्ने उनले बताइन् ।
सांसद कार्कीले नेपालमा विवाह गरेर अन्य मुलुकमा लगेर मान्छे बेच्ने गरिएको पनि बताइन् । विशेष गरी चीनमा त्यस्तो हुने गरेको उनको भनाई छ । लिभिङ टुगेदर पनि पछिल्लो समयमा बेचबिखनको एउटा ठूलो कारण भएको उनले बताइन् ।
धेरै महिलाहरु लिभिङ टुगेदरमा बसेकाहरुबाट बेचबिखनमा पर्ने गरेको उनको भनाई छ । उनले उद्धार गरिएका महिलालाई पुनःस्थापना गर्दा सहज हुनेगरी कानूनलाई कडाई गर्न पनि माग गरिन् । पुनःस्थापित गर्दा समाज र परिवारले बहिस्कृत गर्न नुहने कानून कडाई साथ लागू गर्नुपर्नेमा उनले जोड दिइन् ।
नेपाली काँग्रसकी सांसद जावेदा खातुन जागाले भारतमा बढी मानव बेचबिखन हुनुको मुख्य कारण खुला सीमाना रहेको बताइन् । खुला सीमानाको कारण त्यहाँ ज्याला मजदुरी गर्न जाने र त्यहाँ गइसकेपछि बेचविखनमा पर्ने, यौन व्यवसायमा लाग्ने गरेको उनको भनाई छ ।
खुला सीमानाले गर्दा सब्जी किन्ने, बजार जाने बाहानामा भारत जाने र त्यहाँ बेचबिखनमा पर्ने गरेको धेरै पाइएको उनले बताइन् । बेचबिखनमा परेकाहरुलाई माईती नेपाल लगायतका पुनःस्थापना केन्द्रले उद्धार गरी ल्याएको उल्लेख गर्नुहुँदै उहाँले यी संस्थाहरु सबै जिल्लामा आवश्यक रहेको बताइन् । माईती नेपाल र पुनःस्थापना केन्द्रले मानव बेचबिखन सम्बन्धी काम गरिरहेको उनको भनाई छ ।
छलफलमा नेकपा (माओवादी केन्द्र) की सांसद कल्पना मियाँ कुसारीले बुझ्दै नबुझी बिदेश जाने प्रवृत्तिलाई रोक्नुपर्नेमा जोड दिइन् । माईती नेपाल लगायतका संस्थाहरुले त्यस सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको भनाई छ । मान्छे उद्धार गर्नेमा प्रतिष्पर्धा चलिरहेको उल्लेख गर्नुहुँदै उनले अवैध रुपमा विदेश जाने बाटो नै बन्द गर्नेतर्फ सबैले ध्यान दिनुपर्नेमा जोड दिइन् ।
महिला तथा सामाजिक मामिला समितिले माईती नेपाल, पुनःस्थापना केन्द्र लगायतका समाजिक संघसंस्थाका प्रतिधिनिहरुसँग मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी विद्यमान कानूनी जटिलताका बारेमा छलफल गरेको थियो । छलफलमा समिति सदस्य तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरु सहभागी थिए ।








