प्रदेश सभा ‘मन्त्री उत्पादनको कारखाना’ बन्यो, मुख्यमन्त्रीको प्रत्यक्ष निर्वाचन गरौँ : विष्णु रिजाल

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका नेता विष्णु रिजालले प्रदेश सरकारको निरन्तरको अस्थिरता र पदमोहको राजनीतिको अन्त्यका लागि मुख्यमन्त्रीको प्रत्यक्ष निर्वाचन हुनुपर्ने प्रस्ताव अघि सारेका छन् । उनले प्रदेश सभाहरूलाई ‘मुख्यमन्त्री र मन्त्री उत्पादनको कारखाना’ को संज्ञा दिँदै यसले संघीय प्रणालीलाई नै कमजोर बनाइरहेको तर्क गरेका छन् । सामाजिक सञ्जाल ‘एक्स’ मार्फत उनले यो धारणा सार्वजनिक गरेका हुन् ।

नेता रिजालले प्रदेश सभा सदस्यहरू पद प्राप्तिको लोभमा मात्र केन्द्रित भएको तीखो टिप्पणी गरेका छन् । प्रदेश राजनीतिभित्रको विकृति औंल्याउँदै उनले लेखेका छन्, ‘प्रदेशसभामा आएपछि मुख्यमन्त्री, मन्त्री, सभामुख, उपसभामुख, समितिका सभापति, दलका सचेतक नभएर पाँच वर्षमा कोही पनि रित्तो हात घर फर्किनु नपर्ने अवस्था देखिएको छ । आफ्नै पार्टीका मुख्यमन्त्रीले पनि दलका सदस्यको चित्त बुझाउन नसकेर बीचैमा छाड्नु परिरहेको छ ।’

यस्तो विकृतिको समाधानका लागि रिजालले स्थानीय तहको जस्तै निर्वाचन प्रणाली प्रदेशमा पनि लागू गर्नुपर्नेमा जोड दिएका छन् । उनको प्रस्तावअनुसार, जनताले सिधै आफ्नो मुख्यमन्त्री चयन गर्न पाउँदा सरकारमा स्थिरता आउने र प्रदेशहरू परिणाममुखी बन्न सक्नेछन् । ‘यसको समाधानका लागि स्थानीय तहमा जस्तै प्रदेश तहमा मुख्यमन्त्रीको प्रत्यक्ष निर्वाचन गर्नुपर्छ,’ उनले भनेका छन्, ‘यसबाट संघीयतालाई अलि स्थिर र उपलब्धिमूलक बनाउन सकिन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + twelve =