विराटनगरमा आरटीएन दिवस: रक्तदान कार्यक्रममार्फत ४२ पिन्ट रगत संकलन

विराटनगर । ‘सेवामार्फत स्वतन्त्रता’ को नारालाई आत्मसाथ गर्दै राउण्ड टेबल नेपाल (आरटीएन) ले आफ्नो स्थापना दिवसको अवसरमा बिराटनगरमा एक बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । समाजसेवा र मानवीय कार्यप्रतिको प्रतिबद्धतालाई निरन्तरता दिँदै आयोजित उक्त कार्यक्रममा ४२ पिन्ट रगत संकलन भएको छ ।
बिराटनगर सेन्ट्रल राउण्ड टेबल १५, ४१ क्लब ४ बिराटनगर, र ट्याङ्गेण्ट्स क्लब १ बिराटनगरको संयुक्त आयोजनामा स्थानीय जयहिन्द पीयू टेकमा कार्यक्रम आयोजना गरिएको थियो । अस्पतालहरूमा देखिने रगतको अभावलाई न्यूनीकरण गर्न र नियमित रक्तदानको महत्त्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।
राउण्ड टेबल नेपाल, विशेष गरी शिक्षा र स्वास्थ्यको क्षेत्रमा देशभर सामाजिक कार्यमा सक्रिय संस्था हो । संस्थाले विगतमा पनि विभिन्न जिल्लामा विद्यालय भवन निर्माण, स्वास्थ्य शिविर सञ्चालन तथा कोरोना महामारीको समयमा स्वास्थ्य उपकरण वितरण जस्ता कार्यहरू गर्दै आएको छ । यसै सामाजिक यात्राको एक हिस्साको रूपमा आरटीएन दिवसको अवसरमा यो रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा क्लबका सदस्यहरू, स्वयंसेवकहरू तथा स्थानीय बासिन्दाहरूको उत्साहजनक सहभागिता रहेको थियो । सहभागीहरूले यस्ता कार्यक्रमले रक्त अभावमा परेका बिरामीहरूलाई नयाँ जीवन दिन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
आयोजक संस्थाहरूले रक्तदान जस्तो पवित्र मानवीय कार्यमा सहभागी भई कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबै रक्तदाता तथा स्वयंसेवकहरूलाई धन्यवाद ज्ञापन गरेका छन् ।









