जलश्रोत विधेयकमा जलवायु परिवर्तनको विषयले स्थान पाउनुपर्छ : सांसद शाक्य

काठमाडौं । सांसदहरुले जलश्रोत विधेयक, २०८१ मा जलवायु परिवर्तनको विषय जोडिनुपर्ने माग गरेका छन् ।
मंगलवार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य अञ्जान शाक्यले जलश्रोत विधेयकमा जलवायु परिवर्तनको विषय कतै न कतै उल्लेख गर्न माग गरेकी हुन् ।
उनले यसले अन्तर्राष्ट्रिय स्तरमा पनि महत्व राख्ने उल्लेख गरिन् । विधेयकमा जलवायु परिवर्तन तथा वातावरण विज्ञान राखेर जान उचित हुने सुझाव दिइन् । ‘जलश्रोत विधेयकमा जलवायु परिवर्तनको कहीँ न कतै उपस्थिति आवश्यक छ । कहीँ न कहीँ यसको उल्लेख हुनुपर्छ’ उनले भनिन् ।
समितिको बैठकमा बोल्दै नेकपा (एकीकृत समाजवादी) का सांसद वेदुराम भुसालले विधेयकमा विकास भनेर मात्रै राखिएको तर उर्जा विकास हो वा के विकास भन्नेबारेमा स्पष्ट नरहेको बताए ।
उनले यसको स्पष्ट परिभाषा दिन माग गरे । ‘विकास भनेको के हो यसको परिभाषा चाहियो । परिभाषा पनि दिन नसक्ने कुराले अर्थ राख्दैन । विधेयकमा भित्र जेजे वस्तु राखिन्छ त्यसको सारसंक्षेप प्रश्तावना हो । भित्र छैन भने प्रश्तावनामा राखेर कुनै अर्थ हुँदैन’ उनले भने ।
समितिका अधिकांश सांसदहरुले विधेयकलाई प्रभावकारी बनाउने गरी निर्माण गर्नेपर्नेमा जोड दिएका छन् ।








