धमलाको स्मृतिमा वीर अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानअन्तर्गत सञ्चालित वीर अस्पतालमा स्वास्थ्य सामग्री सहयोग गरिएको छ ।
धादिङका समाजसेवी दुर्गाप्रसाद धमलाको स्मृतिमा आज सङ्गीता धमला तथा दुर्गालक्ष्मी प्रतिष्ठान र लायन्स क्लब अफ काठमाडौँ पावर सेक्टर ३२५ जेले आज १२ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा आगन्तुक शय्या, शुद्ध पिउने पानी, मोबाइल चार्जिङ बोर्ड, ट्रली, डस्टबिन र बिरामीको जानकारीका लागि टेलिभिजन, सिसी क्यामेरालगायतका अत्यावश्यक सामग्री प्रदान गरिएको हो ।
कार्यक्रममा स्वास्थ्यमन्त्री पौडेलले नेपालको स्वास्थ्य क्षेत्रको विकासका लागि सामाजिक सङ्घसंस्थाले खेलेको भूमिका सराहनीय रहेको बताए ।
स्वास्थ्यसँग समुदायलाई जोड्दै जानुपर्ने उनको भनाइ थियो । मन्त्री पौडेलले स्वास्थ्य बिमालाई व्यवस्थित बनाउन सरकारले काम गरिरहेको उल्लेख गरे ।
कार्यक्रमका आयोजक एवं लायन्स क्लब अफ काठमाडौँ पावर सेक्टर ३२५ जेका प्रतिनिधि इन्जिनियर विनोद देवकोटाले उपचारका क्रममा वीर अस्पतालमा भर्ना भएका बिरामीले भोग्नुपरेका समस्यालाई मध्यनजर गर्दै उक्त स्वास्थ्य सामग्री सहयोग गरिएको बताए ।
समाजसेवी दुर्गाप्रसाद धमलाको उपचारका क्रममा २०८१ मङ्सिर ११ गते वीर अस्पतालमा निधन भएको थियो । उनको स्मृतिमा प्रतिष्ठानले विभिन्न सामाजिक काम गर्दै आएको छ ।









