हिमालयन एभरेष्ट इन्स्योरेन्सले गर्यो डोको रिसाइक्लर्ससँग सहकार्य

काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले फोहोर व्यवस्थापनमा नवीन प्रयास थालेको छ ।
इन्स्योरेन्स र डोको रिसाइक्लर्सबीच सहकार्य भएसँगै प्रमुख कार्यालयको फोहोर डोको रिसाइक्लर्सले संकलन गरिरहेको छ । डोको रिसाइक्लर्स एक वातावरणीय संस्थाको रूपमा फोहोर संकलन, वर्गीकरण र प्रशोधनको काम गर्छ । वातावरणमैत्री उद्यमका रूपमा आफूलाई स्थापित गर्ने लक्ष्यसहित कम्पनीले फोहोर व्यवस्थापनमा जोड दिएको कम्पनीले जनाएको छ ।
हिमालयन एभरेष्ट इन्स्योरेन्सकी प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठले भनिन्, ‘वातावरण संरक्षण र दिगोपन हाम्रो प्राथमिकता हो, फोहोर डम्पिङ साइटमा जान नदिन र पुनः प्रयोगमा ल्याउन हामीले महत्त्वपूर्ण कदम चालेका छौँ ।’
यस्ता फोहोरलाई जिम्मेवार रूपमा व्यवस्थापन गर्ने उद्देश्य राखेर इन्स्योरेन्सले डोकोसँग सहकार्य गरेको सिइओ श्रेष्ठले बताइन् । हिमालयन एभरेष्ट इनस्योरेन्सबाट उत्पन्न करिब ८५ प्रतिशत फोहोरको हिस्सा सुक्खा प्रकारको भएकाले यसलाई डोकोले नै पुनः प्रयोगका लागि योग्य सामग्री बनाउने काम गर्छ । कार्यालयमा सकेसम्म कागजलाई कम प्रयोग गर्ने र डिजिटलाइजेशन प्रणालीमा रूपान्तरण गर्दै जाने कम्पनीको योजना छ ।
एचइआईले भनेको छ, ‘दीर्घकालीन दिगो वृद्धि सुनिश्चित गर्ने दिशामा चालिएको एक महत्त्वपूर्ण कदम हो, डिजिटलाइजेशनको यात्रासँगै कम्पनीले कार्बन उत्सर्जन घटाउने प्रतिबद्धतासमेत व्यक्त गर्दछौँ ।’ यो योजनालाई शाखाहरूमा पनि विस्तार र कार्यान्वयन गर्ने इन्स्योरेन्सको तयारी रहेको जानकारी दिएको छ ।








