लिची बगैँचा घुस प्रकरण : एमालेले सुजन लामा र के.गिरीलाई पार्टीबाट गर्यो निलम्बन

काठमाडौं । नेकपा एमाले गण्डकी प्रदेश कमिटीले तत्कालीन सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तासँग मिलेर घुस डिल गरेको आरोप लागेका सुजन लामा र निजामती कर्मचारी के. गिरीलाई पार्टी सदस्यबाट निलम्बन गरेको छ ।
एमाले गण्डकी प्रदेश सल्लाहकार परिषदका सदस्य रहेका लामालाई पोखराको १३५ रोपनी लिची बगैँचा हडप्नका लागि मन्त्रीसँग सेटिङमा घुस डिल गरेको आरोपमा निलम्बन गरिएको हो । गिरी भने आर्थिक कारोबारमा संलग्न देखिएकाले निलम्बनमा परेका हुन् ।
शर्माका अनुसार, मालपोत कार्यालय कास्कीका प्रमुख रामचन्द्र अधिकारीको सरुवा रोक्नका लागि लामाले तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गुप्तासँग ५३ लाख रुपैयाँ घुस डिल गरेका थिए ।
साथै, भूमि आयोग कास्कीको अध्यक्षमा खेम पुनलाई नियुक्त गर्न २५ लाखको प्रस्ताव पनि लामाबाट गरिएको आरोप छ ।
लामालाई यसअघि सल्लाहकार परिषद संयोजक मोहन रेग्मीले स्पष्टीकरण सोधेका थिए । स्पष्टीकरणमा उनले ‘एआई जेनेरेटेड अडिओ’ भएको जवाफ दिएका थिए, तर सो जवाफ चित्तबुझ्दो नभएपछि निलम्बन गरिएको अध्यक्ष शर्माले बताए । तर भूमि आयोग अध्यक्षका दावेदार खेम पुनलाई भने निलम्बन नगरिएको अध्यक्ष शर्माले स्पष्ट पारे ।








