भिजिट भिसामा अघोषित प्रतिवन्ध गलत : महानिर्देशक तिवारी

काठमाडौं । अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले भिजिट भिसामा अघोषित प्रतिवन्ध लगाएर समस्याको समाधान नहुने बताएका छन् ।
आईतवार कालिकास्थानस्थित कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै महानिर्देशक तिवारीले यस्तो बताएका हुन् ।
श्रम आप्रवासनको धरातलीय यथार्थका स्वीकार गरेर सुरक्षित नबनाएसम्म अध्यागमनदेखि भिजिट भिसाको समस्याहरु समाधान नहुने उनको भनाइ छ ।
उनले मानव तस्करी र स्वेच्छिक रुपमा विदेश जान चाहने व्यक्तिलाई एउटै नजरले हेर्न नहुने पनि बताए । उनले भिजिट भिसा दुरुपयोगका सम्बन्धमा भएको अनियमिततालाई मानव तस्करी भन्न नमिल्ने उल्लेख गरे ।
उनले भिजिट भिसासम्बन्धी समस्या अध्यागमनका कर्मचारीको कमजोरी र नियतले नभई प्रणालीगत समस्याको कारण सिर्जित भएको उनको जिकिर छ ।
उनले अध्यागमन कार्यालयको पुनःसंरचना र कानूनी सुधार गर्नसके मात्र भिजिट भिसा दुरुपयोग रोक्न सकिने बताए ।
उनले भिजिट भिसामा आउने मान्छेको भिसालाई वर्क भिसामा रुपान्तरण नगर्न कुटनीतिक पहल गर्नुपर्ने समेत बताए ।
महानिर्देशक तिवारीले अध्यागमन सुधारका लागि प्याकेजमा काम गर्न लागेको उल्लेख गर्दै सहकार्य गर्नको लागि सरोकारवाला सबैसँग आह्वान गरे ।








