प्रादेशिक कृषि थोक बजार हेटौंडा उपमहानगरपालिकालाई हस्तान्तरण

काठमाडौं । हेटौंडा ११, थानाभ¥याङमा निर्माण भएको प्रादेशिक कृषि थोक बजार हेटौंडा उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको छ ।
वागमती प्रदेश सरकारको ७० प्रतिशत र उपमहानगरपालिकाको ३० प्रतिशत लागत साझेदारीमा निर्माण भएको थोक बजार आईतवार आयोजित एक कार्यक्रमको बीच उद्घाटन एवं हस्तान्तरण गरिएको हो । कृषि तथा पशुपंक्षी विकासमन्त्री प्रकाश श्रेष्ठ र नगर प्रमुख मिनाकुमारी लामाले संयुक्त रूपमा थोक बजार भवनको उद्घाटन गरे ।
उद्घाटन समारोहमा मन्त्री श्रेष्ठले थोक बजारलाई प्रदेश सरकारले नमूना कार्यक्रमको रूपमा अघि बढाएको बताए । थोक बजार किसान, व्यवसायी र उपभोक्ता सबैलाई लक्षित गरी सञ्चालन हुने उनको भनाई छ ।
किसान महासंघ, कृषक महासंघ लगायत कृषि क्षेत्रका सरोकारवालाहरूको समन्वयमा उपभोक्तालाई स्वस्थ तरकारी उपलब्ध गराउन यो बजारले महत्वपूर्ण भुमिका खेल्ने मन्त्री श्रेष्ठको विश्वास रहेको छ ।
प्रादेशिक थोक बजार सञ्चालन तथा व्यवस्थापनको सम्पूर्ण जिम्मा मन्त्रालयले उपमहानगरपालिकालाई हस्तान्तरण गरेको उनले बताए ।
यस्ता बजार हरेक पालिकामा विस्तार गर्ने योजना अनुरुप प्रविधिमैत्री थोक बजार निर्माणका लागि यस आर्थिक वर्षमा ९ वटा पालिकालाई बजेट विनियोजन गरिएको पनि उहाँले जानकारी गराए ।
मन्त्री श्रेष्ठले वागमती प्रदेशभित्र ८० प्रतिशत भन्दा बढी जमिन बाँझो रहेकोमा चिन्ता व्यक्त गरे । उनले बाँझो रहेका जग्गालाई उपयोगमा ल्याउन तीनै तहका सरकारबीच समन्वय आवश्यक रहेकोमा जोड दिए । कृषि उपजको आयात घटाउँदै निर्यात बढाउन सबै जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो ।
नगर प्रमुख लामाले कृषि थोक बजार किसानप्रतिको सम्मान भएको बताए । किसान लक्षित भवनमा मन्त्रालय राखेकोप्रति असन्तुष्टि जनाउँदै उहाँले किसानले सुविधासम्पन्न भवन प्रयोग गर्न पाउनुपर्ने धारणा राखे । नगर प्रमुख लामाले किसानलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आवश्यक रहेकोमा जोड दिए ।
कार्यविधि स्वीकृत भएर आएलगत्तै दशैँअघि नै बजार सञ्चालनमा ल्याउने बताउँदै नगर प्रमुख लामाले थोक बजार सञ्चालनको जिम्मा सिधै किसानलाई दिने उपमहानगरपालिकाको तयारी रहेको उल्लेख गरे ।
कुल ३२ करोड १० लाख रुपैयाँ लागतमा निर्माण गरिएको थोक बजारभित्रको पक्की सडक निर्माणका लागि कृषि विकास निर्देशनालयबाट थप ७७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।
कुल २ बिगाहा ४ धुर क्षेत्रफलमा फैलिएको बजारमा थोक बिक्रीका लागि दुई तलाको भवनमा ४० वटा सटर, तरकारी ओसारपसारका लागि ४ वटा कार्गो लिफ्ट र २ वटा यात्रु लिफ्टको व्यवस्था छ भने खुद्रा बिक्री भवनमा २३ वटा सटर र २ वटा यात्रु लिफ्ट छन् ।
साना किसानहरूलाई आफ्ना कृषि उत्पादन आफैँ बेच्न टहराको व्यवस्था पनि गरिएको छ । साथै २ सय ३२ वर्ग मिटरको च्याम्बरसहितको कोल्ड स्टोरेज पनि रहेको छ । जहाँ एक पटकमा ५ सय मेट्रिक टनसम्म कृषि उपज सुरक्षित भण्डारण गर्न सकिने बताइएको छ ।








