जाँचपास भएका वस्तुको पुनः जाँच तथा अनुसन्धानका लागि कार्यविधि जारी

काठमाडौं । भन्सार जाँचपास भएका वस्तुको पुनः जाँच तथा अनुसन्धानका लागि भन्सार विभागले कार्यविधि जारी गरेको छ ।

भन्सार ऐनले गरेको व्यवस्थाअनुसार एक पटक जाँचपास भएको वस्तु नियन्त्रणमा लिई पुनः जाँच तथा अनुसन्धान गर्ने कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन भन्सार विभागले कार्यविधि बनाएको हो ।

कार्यविधिअनुसार अब एक पटक जाँचपास भएको वस्तु भन्सार अधिकृत अधिकृतले नियन्त्रणमा लिई पुनः जाँच तथा अनुसन्धान गर्न सक्नेछ ।

कुनैपनि निकासीकर्ता वा पैठारीकर्ताले भन्सार कार्यालयमा घोषणा गरी जाँचपास भइसकेको वस्तुको प्रकृति, भौतिक विशेषता, चारित्रिक गुण, नाप, आकार, वर्गीकरण उपशीर्षक, परिमाण, उत्पत्तिको मुलुक, ब्राण्ड, मोडेल र गुणस्तर मध्ये सबै वा कुनै विवरण फरक पारी महशुल छली गरेको, जालसाजी, कीर्ते, नक्कली कागजात पेश गरी महशुल वा राजश्वमा हानी नोक्शानी पु¥याएमा वस्तु जाँचपास गर्न भन्सार अधिकारीले अधिकार कार्यविधिअनुसार पाएको छ ।

कार्यविधिअनुसार प्रतिवन्धित वस्तु घोषणा गरेको, वस्तु नै घोषणा नगरेको, न्युन बीजकीकरण गरेको, अधिक बीजकीकरण गरेको भनी विभागमा प्राप्त हुन आएको सूचनालाई महानिर्देशकले व्यवस्थित र गोप्य रुपमा अभिलेखवद्ध गरी राख्न लगाउन सक्नेछ ।

वस्तुको पुनः जाँच तथा अनुसन्धान गर्दा भन्सार अधिकारीले प्रक्रिया भने पु¥याउनुपर्छ । कार्यविधिले अवलम्वन गर्नुपर्ने प्रक्रियालाई प्रष्ट पारेको छ । वस्तुको पुनः जाँच तथा अनुसन्धान गर्नको लागि तोकिएको अधिकृतले वस्तु नियन्त्रणमा लिई जाँच गर्नुपूर्व सम्बन्धित निकासीकर्ता वा पैठारीकर्ता वा भन्सार एजेन्टलाई सूचना दिने र त्यस्तो वस्तुको जाँच गर्दा मुचुल्का तयार गराउनुपर्नेछ ।

त्यस्तै, जाँचपास भएको वस्तुको पुनः जाँच तथा अनुसन्धान गर्दा सम्बन्धित व्यक्ति वा निकायबाट थप जानकारी, तथ्यांक वा कागजात माग गरी विश्लेषण गर्नुपर्नेछ ।

निकासीकर्ता, पैठारीकर्ता वा भन्सार एजेन्टको रोहवरमा वस्तुको जाँच गर्ने अधिकार कार्यविधीले भन्सार अधिकारीलाई दिएको छ तर निकासीकर्ता वा पैठारीकर्ता, निजको भन्सार एजेन्ट उपस्थित नभएकै कारणले मात्र वस्तुको जाँच गर्न बाधा नपर्ने कार्यविधिले प्रष्ट पारेको छ ।

भन्सार अधिकारीले पुनजाँच पछि प्रतिवेदन पेश गर्नुपर्ने कार्यविधिले उल्लेख गरेको छ । जाँचपास भएको वस्तुको पुनः जाँच तथा अनुसन्धान सम्पन्न भएपछि प्रतिवेदन पेश गरेपछि जाँचपास भएको वस्तुको पुनः जाँच तथा अनुसन्धानको प्रतिवेदन प्राप्त भएपछि महानिर्देशकले ऐनअनुसार भन्सार अधिकृतलाई भए सरहको अधिकार प्रयोग गरी प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिन सक्ने कार्यविधिमा व्यवस्था गरिएको छ ।

पुनः जाँचका लागि भन्सार अधिकारीले सहयोग माग गर्नसक्ने समेत कार्यविधिले प्रष्ट पारेको छ ।

कार्यविधिमा भनिएको छ–‘यस कार्यविधि बमोजिम जाँचपास भएको वस्तुको पुनः जाँच तथा अनुसन्धान गर्नको लागि महानिर्देशकले तोकेको अधिकृत वा भन्सार अधिकृतले आफ्नो कर्तव्य पालना र अधिकार प्रयोग गर्दा कुनै सरकारी कर्मचारी, प्रहरी, वित्तीय संस्था, निकासीकर्ता, पैठारीकर्ता, भन्सार एजेन्ट, ढुवानी साधनको धनी एवं चालकसँग कुनै प्रकारको सहयोग, सूचना वा मद्दत माग गर्न सक्नेछ ।’

त्यस्तो सहयोग, सूचना वा मद्दत दिनु त्यस्तो सरकारी कर्मचारी, प्रहरी वा वित्तीय संस्था, निकासीकर्ता, पैठारीकर्ता, भन्सार एजेन्ट, ढुवानी साधनको धनी एवं चालकको कर्तव्य हुने कार्यविधिमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =