१५ वर्षदेखि भक्तपुरमा चटपटे बेच्दै विहारका देवकरण, भन्छन्- ‘नेपालमै सन्तुष्ट छौँ’

काठमाडौँ । भक्तपुरको सिर्जनानगर आकाशे पुल नजिकै एउटा सानो चटपटे पसल छ । त्यही चटपटे पसलबाट चलिरहेको छ, भारत विहारका ५० वर्षीय देवकरण शाहको दैनिकी ।

उनी पसलमा चटपटे र पानीपुरी बेच्छन् । त्यस पसलमा बच्चादेखि युवा समूहका मानिसहरू चटपटे-पानीपुरी खान आइपुग्छन् । विगत १५ वर्षदेखि यसरी नै भक्तपुरमा चटपट व्यापार गर्दै आएको उनले बताए । ‘भारत विहारबाट कमाउन नेपाल आए । पहिल्यैदेखि यही पेसा गर्दै आएको छु’उनले भने, ‘नेपालमा चटपटे व्यापार गरेको धेरै भयो, १५ वर्षजति ।’

भारतमा शाहका बुबाले कृषि पेसा गर्नुहुन्थ्यो । शाह कमाउने सिलसिलामा नै आफन्तहरूसँग नेपाल आएका थिए । उनले उनै आफन्तहरूसँग बसेर चटपटे-पानीपुरी बनाउन सिके ।

त्यसपछि भक्तपुर सूर्यबिनायकमा चटपटे व्यापार सुरु गरेको उनले बताए । उनी भन्छन् ‘उता बुबाले खेती गर्नुहुन्थ्यो । म चाहिँ आफन्तहरूसँग नेपाल आएँ । त्यसपछि आफन्तहरूसँगै पानीपुरी बनाउन सिकेर आफैले बेच्न थाले हुँ ।’

हाल शाह र उनको पत्नी मात्र नेपालमा बस्छन् । उनीहरू दुवै बिहान ९ बजेदेखि बेलुकी ८ बजेसम्म चटपटे व्यापार गर्छन् । उनीहरूले घरमै निर्माण गरिएको स्वास्थ्यकर मरमसलाहरूको प्रयोग गरी चटपटे-पानीपुरी बेच्ने गरेको बताए । भने ‘हामी स्वस्थ बनाउँछौँ । मसलाहरू धेरै हाल्दैनौँ । हामी आफैले बनाएको मसलाहरू मात्रै चलाउँछौँ ।’

शाहले पानीपुरी-चटपटमा चिनी अमिलोको प्रयोग नगरी इम्लिको मात्रै प्रयोग गर्ने बताए । अन्य सामाग्रीहरू नजिकैको होलसेल पसलबाट खरिद गर्ने उनीहरू बताउँछन् ।

यसरी नै शाह दम्पतीले चटपट-पानीपुरी व्यापार गर्दै आफ्नो गुजारा चलाउँदै आएका छन् । दम्पतीले नेपालमा व्यापार गर्दै भारतमा रहेका परिवारका समेत आवश्यकतालाई पूर्ति गर्दै आएको बताए । भन्छन् ‘छोराछोरीहरू भारतमा छन् । सबै उतै बसेर पढ्छन् । यहाँबाट हामी पैसा पठाउँछौँ । यही काम गरेर बच्चाहरूलाई पढाई रहेका छौँ । दिनभरि यसैमा व्यस्त हुन्छौँ । आराम छैन । आराम गर्ने फुर्सद हुँदैन ।’

उनीहरू यही पेसाबाट छोरा, छोरीलाई शिक्षा दिइरहेको बताउँछन् ।यसरी शाह दम्पती चटपटे व्यापारबाट गुजारा चलाए पनि राम्रो आम्दानी भने गर्न नसकेको बताउँछन् । उनीहरूले उक्त व्यापारबाट खान-लगाउन पुगे पनि भाडा तिर्न भने समस्या रहेको गुनासो गरे ।

उनीहरूले हरेक महिना ९ हजार रुपैयाँ भाडा तिर्दै आएका छन् । तर आम्दानीको भने निश्चित नरहने उनीहरूले बताए । शाहले सुरुमा नेपाल आउँदा आफूलाई धेरैले भारतीय भनेर हेपेको भएपनि अहिले सबैले राम्रो व्यवहार गरेको बताए । उनले कोही नयाँ व्यक्तिले भने अझै नराम्रो व्यवहार गरेको भन्दै गुनासो पोखे । ‘त्यस्तो कोही छैन, सबैले चिन्छन् । राम्रो व्यवहार गर्छन् । तर कोही नयाँ मान्छे आउँदा तिनीहरूले चाहिँ हेप्छन् । नराम्रो लाग्छ । धेरै धेरै बचन सहेका छौँ’ उनी भन्छन् ।

उनले नेपालमा केही अवसर छैन र केही गर्न सकिँदैन भन्ने आम नागरिकहरूको धारणा गलत रहेको बताए । उनले नेपालको सरकार राम्रो रहेको यहाँ धेरै सन्तुष्टिको जीवन आफूहरूले बिताएको सुनाए । शाहले भने ‘सरकार राम्रै छ । सबै राम्रै छ यहाँ । राम्रै भएर त बसिरहेका छौँ नि, नराम्रो भए त यहाँबाट भागी हाल्थ्यौँ नि । हामी सन्तुष्ट छौँ । हामी नेपालमा बसेर सन्तुष्ट छौँ ।’

उनले विदेशमा लाखौँ लाख खर्च गरेर दुख गर्नु भन्दा आफ्नो चाहना र जाँगर भए नेपालमै राम्रो आम्दानी गर्न सकिने बताए । शाहले अब भारतमै गएर छोराछोरीको बिहे गरिदिएर उतै बस्ने आफूहरूको योजना रहेको जानकारी दिए । ‘अब बच्चाहरू ठुलो भइसक्यो । उतै जाने उनीहरूको विवाह गरिदिने योजनामा छौँ’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =