त्रिविको केन्द्रिय विभाग बल्खुस्थित कानून संकायको नवनिर्मित भवन उद्घाटन

काठमाडौं । त्रिभूवन विश्वविद्यालयको केन्द्रिय विभाग बल्खुस्थित नवनिर्मित कानून संकायको भवन उद्घाटन गरिएको छ ।
बुधवार बल्खुस्थित विभागको कानून संकायको नवनिर्मित भवनको उद्घाटन एक कार्यक्रमकाबीच त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्यालले गरेका हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दै कानून संकायका डीन प्रा. डा. कृष्णप्रसाद बस्यालले भवन निर्माणमा सहयोग गर्ने सबैलाई धन्यावाद दिए ।
उनले शैक्षिक संस्थालाई शैक्षिक चरित्रअनुरूप निर्माण गर्नुपर्नेमा अझ धेरै प्रयास आवश्यक रहेको धारणा राखे ।
कानून शिक्षाको गुणस्तर सुधारका लागि आवश्यक शिक्षकको अभाव रहेको उल्लेख गर्दै उपलब्ध जनशक्तिको सेवा प्रवाहलाई अनुसन्धानको विषय बनाउनु आवश्यक रहेको बताए ।
उनले हाल कानून संकायअन्तर्गत ६ वटा आंगिक क्याम्पस, एक सम्बन्धन प्राप्त क्याम्पस र एक पब्लिक क्याम्पससहित कुल ८ कलेजहरूमा कानून विषयको पठनपाठन भइरहेको पनि जानकारी दिए ।
उनले विश्वविद्यालयको आफ्नै नयाँ भवनबाट पठन पाठन हुँदा कानूनी शिक्षाको सुधार हुने विश्वास समेत व्यक्त गरे ।








