श्रम क्षेत्रमा जुरेको जस्तै पहिरो गएको छ : ट्रेड युनियन नेता

काठमाडौं । नेपालका ट्रेड युनियन महासंघका शीर्ष नेताहरूले श्रमिकहरूले लामो संघर्षबाट प्राप्त गरेका अधिकारहरूमाथि संगठित रूपमा प्रहार भइरहेको र जलवायु परिवर्तनको बढ्दो असरले उनीहरूको जीवनयापनमा गम्भीर संकट निम्त्याएको भन्दै गहिरो चिन्ता व्यक्त गरेका छन् ।
काठमाडौंमा आयोजित ‘जलवायु परिवर्तनले देशमा पारेको असर’ विषयक सामाजिक संवाद कार्यक्रममा बोल्दै अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष जगत सिम्खडाले हाल नेपालको श्रम क्षेत्रमा ‘जुरेको पहिरो’ गएको जस्तो भयावह अवस्था सिर्जना भएको टिप्पणी गरे । उनले श्रमिकका अधिकारहरूलाई बाढीले बढारेर लगेजस्तो गरी खोसिएको बताउँदै भने, ‘अधिकार भन्ने कुरा हामीले भोग्न र देख्न नपाउने जस्तो स्थिति बनेको छ । आजको दिनमा एकदमै पीडा र दुःखको अवस्थामा छौँ, भएका अधिकारहरू पनि कटौती हुँदै जाने क्रम जारी छ ।’ उनले सामाजिक संवाद र न्यायिक रूपान्तरणका लागि ठूलै आन्दोलन आवश्यक पर्नसक्ने संकेतसमेत गरे ।
कार्यक्रममा नेपाल ट्रेड युनियन कंग्रेसका अध्यक्ष योगेन्द्र कुँवरले जलवायु परिवर्तनमा नेपालको योगदान नगन्य भए पनि यसको सबैभन्दा ठूलो र असंगत भार नेपालले बोक्नुपरेको तर्क राखे । वातावरणीय प्रकोपको प्रत्यक्ष असर श्रमिक वर्गमाथि परिरहेको बताउँदै उनले भने, ‘वातावरणीय प्रकोपबाट सबैभन्दा ठूलो असर श्रमिक वर्गमा परिरहेको छ । उनीहरू रोजगारीबाट विमुख भइरहेका छन्, तर क्षतिपूर्ति पाउने स्थिति बनिरहेको छैन ।’ अध्यक्ष कुँवरले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि आउने अन्तर्राष्ट्रिय कोषहरू लक्षित वर्गसम्म पुग्न नसकेको यथार्थ औंल्याए ।
कार्यक्रमका अन्य वक्ताहरूले जलवायु परिवर्तनले नेपालको अर्थतन्त्रका मुख्य आधारस्तम्भ मानिने कृषि र पर्यटन क्षेत्रलाई धराशायी बनाउँदै लगेकोमा जोड दिए । उनीहरूका अनुसार, यी दुई क्षेत्रमा आएको संकटले लाखौं श्रमिकको रोजगारी, उद्यमशीलता र समग्रमा देशको अर्थतन्त्रमाथि नै गम्भीर असर पारेको छ ।








