नेपाल सिरामिकको चौथो वार्षिक साधारण सभा थाइल्यान्डमा हुने

काठमाडौं । नेपाली टाइल्स उद्योगमा अग्रणी भूमिका खेल्दै आएको नेपाल सिरामिक इन्डस्ट्री प्रा.लि. ले यस वर्ष आफ्नो चौथो वार्षिक साधारण सभा थाइल्यान्डमा आयोजना गर्ने भएको छ ।
‘आफ्नै माटो, आफ्नै शान’ भन्ने नाराका साथ स्थापना भएको कम्पनीले छोटो समयमा घरेलु टाइल्स बजारमा बलियो उपस्थिति जनाउँदै आएको छ ।
नेपालमै पहिलोपटक टाइल्स उत्पादन सुरु गरेको कम्पनी नेपाल सिरामिक ले ‘नेपोभिट टाइल्स’ ब्रान्ड अन्तर्गत गुणस्तरीय उत्पादन गर्दै देशभर बिक्री–वितरण गर्दै आएको छ । स्थापना पछिको चार वर्षे यात्रालाई कम्पनीले अनेकौँ चुनौतीबीचको अवसर का रूपमा लिएको छ ।
आर्थिक, प्राविधिक तथा बजारगत अवरोधबीच पनि कम्पनीले गुणस्तर, नवप्रवर्तन र ग्राहक सन्तुष्टि मा आधारित व्यापार रणनीतिबाट सफलता हात पार्दै आएको छ ।
थाइल्यान्डमा आयोजना हुने वार्षिक साधारण सभा कम्पनीको सफलता यात्राको प्रतीक मात्र नभई, उद्योगको इतिहासमा पहिलोपटक यस्तो खालको अन्तर्राष्ट्रिय पहल पनि हो । कम्पनीले चालु आर्थिक वर्षमा राखिएको बिक्री लक्ष्य (सेल्स टार्गेट) समयमै पुरा गरेपछि, विक्रि टोलीलाई सम्मानस्वरूप यो विशेष ट्रिपको आयोजना गरिएको हो ।
कम्पनीका अनुसार, ‘यो भ्रमण केवल पुरस्कार मात्रै होइन, आगामी दिनमा अझ महत्वाकांक्षी लक्ष्यहरू हासिल गर्न टोलीलाई प्रेरित गर्ने रणनीतिक कदम पनि हो ।’ यस भ्रमणबाट बिक्री टोलीमा थप ऊर्जा, उत्साह र समर्पणको भावना जागृत हुने विश्वास कम्पनीले लिएको छ ।
आगामी दिनमा अझ उच्च बिक्री लक्ष्य निर्धारण गर्दै सेवा र पहुँच विस्तार गर्ने योजना अघि सारेको कम्पनीले नेपाली उत्पादनलाई विश्व बजारसम्म पु¥याउने दीर्घकालीन उद्देश्यसहित अगाडि बढिरहेको जनाएको छ ।
नेपालमै सिरामिक टाइल्स उत्पादनको सुरुआत गर्दै आफ्नै ब्रान्ड स्थापित गर्ने सपना बोकेको नेपाल सिरामिक इन्डस्ट्रीले छोटो समयमै हाम्रै माटोको गन्ध बोकेको उत्पादनमार्फत नेपाली उपभोक्ताको मन जित्न सफल भएको छ । अब, यो सफलताको यात्रा अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत हुँदैछ ।








