सुदूरपश्चिम रोयल्सले मार्भल टेक्नोप्लास्टलाई बनायो एनपीएलका लागि एक्सिलेन्स पार्टनर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सले ‘मार्भल टेक्नोप्लास्ट प्रा.लि.’लाई आफ्नो एक्सिलेन्स पार्टनरको रूपमा घोषणा गरेको छ ।
सोमबार जारी गरिएको विज्ञप्तिमा सुदूरपश्चिम रोयल्सले उत्कृष्टता र विकासप्रति प्रतिबद्ध ब्रान्डसँग सहकार्य गर्न पाउँदा खुसी लागेको जनाएको छ । रोयल्सका अनुसार यो साझेदारीले यस सिजनलाई अझ सफल बनाउने अपेक्षा गरिएको छ भने आगामी सिजनहरूमा पनि आपसी समझदारीका आधारमा सहकार्यलाई निरन्तरता दिने बताइएको छ ।
मार्भल टेक्नोप्लास्ट प्रा.लि.का उपाध्यक्ष पवनकुमार सान्चेतीले सुदूरपश्चिम रोयल्ससँगको सहकार्यप्रति उत्साह व्यक्त गर्दै भने, ‘हामी नेपाल प्रिमियर लिगमा सहभागी हुन पाउँदा उत्साहित छौँ । क्रिकेटले लाखौँ नेपालीलाई जोड्ने र प्रेरित गर्ने माध्यम बनेको छ । नयाँ प्रतिभालाई साथ दिने र खेलप्रेमी समुदायसँग सम्बन्ध विस्तार गर्न पाउनु हाम्रो लागि गौरवको कुरा हो ।’

सान्चेतीले एनपीएलको यस सिजन उत्साहपूर्ण हुने अपेक्षा राख्दै सुदूरपश्चिम रोयल्सलाई भित्री तथा बाहिरी मैदानमा सफलता मिलोस् भन्ने शुभकामना पनि व्यक्त गरे । ‘हिम्मतका साथ खेलौँ, ठूलो सपना देखौँ र नेपाली क्रिकेटलाई विश्वस्तरमा पुर्याऔँ,’ उनले भने ।
सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले पवन सान्चेतीको लामो समयदेखि खेलप्रतिको लगावप्रति सम्मान व्यक्त गरे । ‘मार्भलजस्तो प्रतिष्ठित ब्रान्डसँग सहकार्य गर्न पाउनु सुदूरपश्चिम रोयल्सका लागि गर्वको कुरा हो। यसले एनपीएललाई थप उचाइमा पुर्याउनेछ,’ खड्काले भने ।
उनले मार्भललाई नेपालको नम्बर एक पाइप कम्पनीका रूपमा उल्लेख गर्दै थप व्यवसायिक संस्थाहरूलाई पनि खेल क्षेत्रमा लगानी गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरे । ‘हामी यो साझेदारीमार्फत मार्भल ब्रान्डलाई राष्ट्रिय स्तरमै होइन, अन्तर्राष्ट्रियस्तरमा चिनाउन प्रतिबद्ध छौँ,’ खड्काले स्पष्ट पारे ।








