हाम्रो पात्रोले अस्ट्रेलियाको रेमिट्यान्स लाइसेन्स प्राप्त गर्यो, पहिलो ५ हजार प्रयोगकर्ताका लागि आकर्षक अफर

काठमाडौँ । नेपालको डिजिटल प्लेटफर्म ‘हाम्रो पात्रो’ले अस्ट्रेलियामा रेमिट्यान्स सेवा प्रदान गर्न आवश्यक पर्ने AUSTRAC अन्तर्गतको आधिकारिक लाइसेन्स प्राप्त गरेको छ ।
यससँगै, अस्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूका लागि नेपालमा पैसा पठाउने प्रक्रिया अझ छिटो, सुरक्षित, पारदर्शी र किफायती बन्न पुगेको छ ।
हाम्रो पात्रो रेमिट मार्फत अब अस्ट्रेलियाबाट पठाइएको रकम सिधै नेपालका बैङ्क खातामा तत्काल पुर्याउन सकिन्छ । यसरी पैसा पठाउँदा हाम्रो पात्रो रेमिटले उच्च विनिमय दरमा नै ट्रान्सफर सम्भव बनाउने जानकारी दिएको छ ।
‘अस्ट्रेलियामा दिनप्रतिदिन बढ्दै गएको नेपाली समुदायलाई लक्षित गर्दै, हाम्रो पात्रोले रेमिट्यान्स सेवा विस्तार गर्दै प्रवासी नेपालीहरूलाई वित्तीय रूपमा आफ्ना परिवारसँग अझ सहज तरिकाले जोड्ने महत्त्वपूर्ण कदम चालेको हो।’ कम्पनीले विज्ञप्तिमा उल्लेख गरेको छ ।
यसका साथै यो शुभ अवसरमा सीमित अवधिको लागि विशेष अफर ल्याएको पनि जानकारी दिएको छ । यस अफर अन्तर्गत, अस्ट्रेलियाबाट रेमिट्यान्स पठाउने सुरुवाती ५ हजार प्रयोगकर्ताहरूले अस्ट्रेलियन डलर १०० सम्मको रकम नेपाल पठाउँदा १ अस्ट्रेलियन डलर बराबर रू १०० को विशेष विनिमय दर प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यो दर हालसम्मको अस्ट्रेलिया- नेपाल रेमिट्यान्सको सन्दर्भमा एकदमै लाभदायक दर मानिन्छ, जसले नेपाली प्रवासीहरूलाई थोरै शुल्कमा धेरै मूल्यको सेवा दिन सहयोग पुर्याउँछ।
हाम्रो पात्रो रेमिटबाट एकपटक भेरिभाईड भएर आफ्नो बैंकको विवरणहरू भरेपछि केही क्लिक मै पैसा पठाउन सकिन्छ । यो सेवा प्रयोग गर्नका लागि प्रयोगकर्ताहरूले हाम्रो पात्रो एपमा पनि जान सक्नेछन् ।








