सानिमा रिलायन्सको ‘स्टार एजेन्सी मिट २०८२’ सम्पन्न

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८१/८२ मा उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरूलाई सम्मान गर्ने उद्देश्यले आयोजना गरेको ‘स्टार एजेन्सी मिट २०८२’ कार्यक्रम सम्पन्न भएको छ ।

कम्पनीले बनेपा, चाबहिल, कौशलटार र पाटन क्षेत्रका अभिकर्ताहरूमध्ये बीमाशुल्क संकलन, बीमालेख संख्या तथा टिम व्यवसायका आधारमा उत्कृष्ट प्रदर्शन गर्ने एजेन्सीहरूलाई विशेष सम्मान प्रदान गरेको हो ।

कार्यक्रममा बोल्दै कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत निराजन कँडेलले बीमा सल्लाहकारहरूको योगदानप्रति कृतज्ञता व्यक्त गर्दै सिकाइलाई व्यवहारमा उतारेर कम्पनीलाई अझ नयाँ उचाइमा पुर्‍याउने लक्ष्यमा जुट्नुपर्ने बताए । उनका अनुसार कम्पनीले आ.व. २०८१/८२ मा ७०० करोड रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन गर्न सफल भएको छ ।

कम्पनीका प्रमुख व्यवसाय अधिकृतहरूले अभिकर्ताहरूलाई आवश्यक सीप र कलाका विषयमा जानकारी दिँदै व्यवसाय अभिवृद्धिमा लाग्न प्रेरित गरेका थिए। कार्यक्रममा क्षेत्रीय प्रबन्धक, एरिया म्यानेजर, शाखा प्रमुखसहित ७०० भन्दा बढी अभिकर्ताहरूको उपस्थिति रहेको थियो ।

कौशलटार क्षेत्रका नमिता न्यौपाने, चाबहिलका रणबहादुर तामाङ, बनेपाका नारायण बहादुर गुरुङ र पाटनका योगेन्द्र महर्जन क्रमशः आफ्ना क्षेत्रका उत्कृष्ट एजेन्सी म्यानेजरको रूपमा सम्मानित भए । उनीहरूले आफ्नो सफलता पछाडिको मेहनत र आगामी वर्ष पनि त्यही स्थान कायम राख्ने अठोटको चर्चा गरे ।

कार्यक्रमलाई अझ प्रभावकारी बनाउन प्रेरणादायी वक्ता सुदीप बस्नेतलाई समेत आमन्त्रित गरिएको थियो । उनले बिक्री सीप तथा सफलताको लागि आवश्यक सकारात्मक बानी र व्यवहारको महत्त्वमा प्रकाश पारे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 3 =