किन युवा अवस्थामै बढ्दैछ मधुमेह ? जान्नुहोस् मुख्य कारण

केही वर्षदेखि डाइबिटिज (मधुमेह) तीव्र गतिमा बढिरहेको रोगहरूमध्ये एउटा रोग हो । अहिलेको तथ्याङ्क हेर्दा संसारभरमा लगभग ६० करोड मानिसहरूलाई डाइबिटिज भइसकेको छ । अब आउने केही वर्षहरूमा (सन् २०५० मा) ८० करोड नाघ्ने प्रक्षेपण गरिएको छ। हरेक नौ जना व्यक्तिमध्ये एक जनामा डाइबिटिज भएको तथ्याङ्कले देखाउँछ । विगत केही समयदेखि यो विश्वव्यापी महामारीका रूपमा बढिरहेको छ । डाइबिटिजको क्यापिटल (राजधानी) चीन र भारत हो । विश्वमा सबैभन्दा धेरै जनसङ्ख्या भएका देश पनि यिनै दुईवटा हुन् । नेपालको अवस्थामा जनसङ्ख्याको ८ देखि १० प्रतिशतमा डाइबिटिज रहेको बताइएको छ । मधुमेहका सम्बन्धमा न्युज एजेन्सी नेपालले डा. प्रिया दर्शनी योञ्जनसँग नेपालमा मधुमेहको अवस्था, स्थिति र उपचारबारे कुरा गरेको छ । प्रस्तुत छ, डा. योञ्जनसँग गरिएको कुराकानीको सम्पादित अंश :-

मुख्य कारण: जीवनशैली
हाम्रो अहिलेको जीवनशैली पहिलेको भन्दा धेरै नै फरक छ। पहिला संसारभर नै जति सक्रिय खालको जीवनशैली हुन्थ्यो, मानिसहरू धेरै हिँड्थे, अहिले त्यस्तो खालको वातावरण छैन। शहरतिरको अलि छिटो जीवनशैली हुन्छ। बाहिरतिर खाने, तनावपूर्ण कामको वातावरणका कारणहरूले गर्दा मोटोपनाको मात्रा पनि मानिसहरूमा बढिरहेको हुनाले डाइबिटिजको सङ्ख्या बढिरहेको हो।

त्यो सँगसँगै मानिसहरू अलि सचेत भएर परीक्षण गर्ने समय पनि अलि छिटो-छिटो भएको हुनाले यसले बढिरहेको देखाएको हो। तर मुख्य कुरा जीवनशैलीकै कारण अहिले मधुमेह बढिरहेको हो।

अर्को के कुरा याद गर्नुपर्छ भने मधुमेह भएको व्यक्तिमा जुन खालका लक्षणहरू हुन्छन्, जस्तो कि तिर्खा लाग्ने, पिसाब लाग्ने, घाउ निको नहुने, तौल घट्दै जाने, प्रायःमा यी लक्षण हुँदैनन्। त्यसकारण लक्षण नभईकन त कसैले रगत परीक्षण गर्दैन। तर पनि कुनै समस्या नभईकन पनि रगत परीक्षण गर्दा हामीले धेरैमा डाइबिटिज देखेका छौँ।

मधुमेह र थाइराइडको सम्बन्ध
मधुमेह र थाइराइड भनेको हर्मोनसम्बन्धी (एन्डोक्राइन) अभ्यासमा सबैभन्दा साझा हर्मोनल समस्या हुन्। त्यहाँबाट सुरु गरौँ। डाइबिटिज नभएको व्यक्ति र डाइबिटिज भएको व्यक्तिलाई तुलना गरेर हेर्दा थाइराइडको समस्या डाइबिटिज भएका व्यक्तिहरूमा बढी मात्रामा भेटाइन्छ। विशेष गरेर टाइप १ डाइबिटिज अर्थात् प्रकार १ डाइबिटिज, जुन बच्चादेखि नै अर्थात् सुरुदेखि नै इन्सुलिनको अभाव भएको रोग हो, यो रोगमा थाइराइडको समस्या अझै बढी, लगभग ३० प्रतिशतमा नै भेटिन्छ।

मधुमेह कसलाई हुन सक्छ ?
मधुमेह त जसलाई पनि हुन सक्ने रोग हो। तर मधुमेह हुनुमा धेरै कुराका जोखिम कारक (रिस्क फ्याक्टर) हुन्छन्। जस्तो मैले मोटोपनको कुरा गरेँ। निष्क्रिय जीवनशैली अर्थात् अलि सक्रिय नहुने, एउटै ठाउँमा लामो समय बस्ने, शारीरिक क्रियाकलाप नभएको, शारीरिक व्यायाम नहुने, अथवा वंशाणुगत छ भने ती जोखिम कारकहरूले भविष्यमा डाइबिटिज हुने जोखिम बढाउँछ। तर हामीले भन्छौँ नि, मोटो मान्छेमा नै डाइबिटिज देखिने हो, त्यस्तो होइन। हामीले नेपालको जनसङ्ख्यामा हेर्दा वा भारतमा पनि के भेटिरहेका छौँ भने डाइबिटिजको समस्या पश्चिमा अर्थात् युरोप-अमेरिकाको तुलनामा अलि छिटो अथवा १० वर्षअघि नै देखिने गरेको छ। मोटोपन नभएको मान्छे, जस्तै शारीरिक रूपमा मान्छे दुब्लो छ, तर पेटमा बोसोको मात्रा बढी हुने (सेन्ट्रल ओबिसिटी) त्यस्ता व्यक्तिहरूमा पनि हामीले डाइबिटिज भेट्टाइरहेका छौँ। भनेपछि मोटोपना नै हुनुपर्छ भन्ने छैन।

परीक्षण कसले गर्ने, कसरी गर्ने ?
मधुमेह हामी सामान्यतया रगत परीक्षणबाट हेर्छौँ। परीक्षणका क्रममा हामी कि त खाली पेटमा सुगर हेर्छौँ कि त खाना खाएको दुई घण्टापछि हेर्छौँ। अर्को तीन महिनाको सुगर हेर्ने जाँच हुन्छ, जसलाई हामी एचबीएवनसी (HbA1c) भन्छौँ। यी तीनवटै जाँचमा जुनै जाँच गर्दा पनि डाइबिटिज छ कि छैन भनेर हामीलाई थाहा हुन्छ।

अहिलेको निर्देशिका अर्थात् अमेरिकन डाइबिटिज एसोसिएसनले के भन्छ भने, तीव्र गतिमा बढेको रोग भएको हुनाले ३० वर्ष नाघेका, जसमा कुनै पनि जोखिम कारक छैन भने पनि, सबैले रगत परीक्षणमा सुगरको जाँच गर्नुपर्छ। र सामान्य आयो भने हरेक तीन-तीन वर्षमा गर्दा राम्रो हुन्छ।

योबाहेक तपाईंमा डाइबिटिज हुने जोखिम कारक छ, जुन अघि मैले कुरा गरिसकेँ, जस्तै तपाईंको परिवारमा छ, मोटोपना छ, जीवनशैली त्यति सक्रिय छैन भने उहाँहरूले पनि गर्नुपर्छ। त्यो सँगसँगै जसमा कहिलेकाहीँ हर्मोनहरू गडबड हुने अवस्था छ, जस्तो महिलाहरूमा महिनावारी गडबड हुने, समयमा नहुने, जसलाई हामीले ‘पोलिसिस्टिक ओभेरियन सिन्ड्रोम’ भन्छौँ; अथवा पहिले गर्भवती भएको बेलामा सुगर देखिएको छ, जसलाई हामी ‘जेस्टेसनल डाइबिटिज’ भन्छौँ, यस्तो समस्या देखिएको छ भने पनि यस्ता व्यक्तिहरूले एक-एक वर्षको फरकमा आफ्नो रगतमा सुगरको मात्रा जाँच गर्नुपर्ने हुन्छ।

थाइराइड पनि मधुमेहको जस्तै रगत परीक्षणबाट थाहा हुन्छ, लक्षणहरूबाट थाहा हुँदैन। थाइराइडको परीक्षणलाई हामी ‘थाइराइड फङ्सन टेस्ट’ भन्छौँ, जुन सामान्य रगत परीक्षण हो। यो जताततै हुने जाँच हो। त्यसकारण टीएफटी अर्थात् ‘थाइराइड फङ्सन टेस्ट’ बाट हामीलाई थाहा हुन्छ।

थाइराइड कसले परीक्षण गर्ने ?
अघि कुरा गरेजस्तै, टाइप १ डाइबिटिज छ भने यस्ता व्यक्तिहरूले परीक्षण गर्नुपर्‍यो। महिलाहरूले गर्भावस्थाअघि जाँच गर्नुपर्‍यो। जुन महिलाहरूमा बाँझोपनको समस्या छ, महिनावारी गडबडीको समस्या छ, यस्ता महिलाहरूले जाँच गर्नुपर्‍यो। र परिवारमा कसैलाई थाइराइडको समस्या छ भने उहाँहरूले जाँच गर्नुपर्‍यो। सँगसँगै लक्षणहरू छन् भने पनि उहाँहरूले जाँच गर्नुपर्‍यो।

मधुमेहका प्रकार
मधुमेहका पनि धेरै प्रकार हुन्छन्। त्यसमध्ये प्रकार १ र २ का बारेमा कुराकानी गर्छु। हामीले ९० प्रतिशतभन्दा धेरै जुन अभ्यासमा भेटाउँछौँ, त्यो प्रकार २ मधुमेह हो। प्रकार २ अथवा टाइप टु डाइबिटिज उमेर बढ्दै गएपछि लाग्ने सम्भावना बढी हुन्छ। ४० वर्ष नाघेपछि टाइप २ डाइबिटिजको जोखिम बढ्दै जान्छ। तर प्रकार २ मधुमेह बच्चादेखि वृद्धसम्म जसलाई पनि लाग्न सक्ने रोग हो।

दोस्रो भनेको टाइप १ डाइबिटिज। प्रकार १ मधुमेह प्रायजसो बच्चाहरूमा देखिने रोग हो। तर, यो उमेर कटिसकेकाहरूमा पनि देखिन सक्छ। तथापि, बच्चाहरूमा नै बढी देखिन्छ।

युवा अवस्थामा किन बढ्दैछ मधुमेह ?
‘युथ अनसेट डाइबिटिज’ अथवा अलि कम उमेरमै, ४०/३५ वर्षभन्दा कम उमेरमै देखिने मधुमेह पनि विगत केही वर्षहरूमा बढेको देखिएको छ। पहिले हामी के सोच्थ्यौँ भने डाइबिटिज उमेर बढेपछि हुने रोग हो, यो एकदम गलत हो। अहिले जसरी जीवनशैली परिवर्तन भएको छ, खानपान पहिले जस्तो छैन, जुन प्रकारको तनाव छ, यी कारणहरूले गर्दा कम उमेरमा अथवा ३५ वर्ष नपुग्दै वा ३० वर्षभन्दा मुनिकालाई पनि मधुमेह देखिरहेको छ।

५० वर्ष अगाडिसम्म पनि हामीले यस्तो देखेका थिएनौँ। तर १५/२० वर्षयता किशोरावस्था वा युवावस्थामा देखिने मधुमेह हामीले लगभग दोब्बर पाएका छौँ। अहिले जुन प्रकारको जीवनशैली छ, खानेकुराको स्वरूप छ, बाहिर बढी खाने, शारीरिक व्यायाम नगर्ने, मोटोपनाले यो समस्या बढाएको छ।

के खाने, के नखाने?
मधुमेह भएका व्यक्तिहरूले अलि कम कार्बोहाइड्रेट भएको खानेकुरा खाने भनेर सल्लाह दिन्छौँ। चिनी, आलु जस्ता खानेकुरा खाँदा सुगर एकैचोटि ह्वात्तै बढ्छ। त्यसकारण चिनी, आलु, मैदाले बनेका परिकारहरू नखाने सल्लाह दिन्छौँ। त्योबाहेक चिनी मिसिएका चिजबिज, मिठाई, जुस, कोक, फेन्टा, आइसक्रिम, जसमा चिनीको मात्रा धेरै हुन्छ, यस्ता खानेकुरा पनि नखाने सल्लाह दिन्छौँ।

ग्रामीण क्षेत्रमा मधुमेह कम
प्रायजसो ग्रामीण क्षेत्रमा बस्ने मानिसहरूमा मधुमेह कम नै देखिन्छ। किनभने उहाँहरूको जीवनशैली अलि सक्रिय हुन्छ, जस्तो खेतीमा जाने, काम गर्ने, श्रम बढी हुन्छ। खानेकुरा पनि प्रायः घरकै खानुहुन्छ, मिलाएर खानुहुन्छ। उहाँहरूको आहार पनि अलि स्वस्थकर हुन्छ। तर, के पनि देखिएको छ भने ग्रामीण क्षेत्र पनि सहरीकरण हुँदै जाँदा परिश्रम कम, खानेकुरा पनि नमिलाएर खाने गरेको देखिएकाले त्यहाँ पनि मधुमेह देखिरहेका छौँ। तर शहरमा बस्ने मानिसहरूमा मधुमेहको मात्रा अलि बढी नै देखिन्छ।

इन्सुलिन वा औषधि खानेले ध्यान दिनुपर्ने कुरा
मधुमेह भएको व्यक्ति जसले इन्सुलिन (सुगरलाई घटाउने सुई) प्रयोग गरिरहनुभएको छ, वा औषधि खाइरहनुभएको छ, उहाँहरूले चाडपर्वको बेलामा आफ्नो औषधि नियमित लिने र खानेकुरामा ध्यान दिनुपर्छ। किनभने चाडपर्वमा अलिकति गुलियो र चिल्लो खानेकुरा बढी खाइन्छ। त्यसकारण यस्ता कुरामा ध्यान दिएर चिल्लो, गुलियो बार्दै सामान्य, सादा खानेकुराहरू मिलाएर खानुपर्ने हुन्छ।

लामो यात्रामा जाँदै हुनुहुन्छ भने पनि आफ्नो खानेकुरा बोकेर हिँड्ने, आफ्नो इन्सुलिन आइस बक्समा प्याक गरेर बोक्ने, औषधिहरू बोकेर हिँड्ने गर्नुहोस्। यात्रा गर्दा यदि तपाईं आफैँले गाडी चलाइरहनुभएको छ भने एउटा सुगर नाप्ने मेसिन बोकेर हिँड्नुहोस्। लामो समय हिँड्दा सुगर कम हुन सक्छ। खानेकुरा समयमा खाने, बिचबिचमा मेसिनले सुगर जाँच गर्ने र आफूसँग केही गुलियो खानेकुरा, जस्तो चकलेटहरू, पकेटमा राख्ने गर्नुहोस्। यदि सुगर कम भयो भने त्यो खानुभए हुन्छ।

जीवनशैली कस्तो बनाउने?
दिनको सुरुवात सकारात्मक सोचबाट गर्नुपर्‍यो। निद्रा राम्रो हुनुपर्‍यो। बिहान उठेर आफ्नो दिनको सुरुवात कुनै पनि प्रकारको शारीरिक व्यायामबाट गर्नुहोस्। र खानेकुरा यस्तो मिलाउनुहोस् किनभने अहिले व्यस्त जीवनशैली छ। हामी सबैजना व्यस्त हुन्छौँ, काममा कहिले पुग्ने भनेर हतार हुन्छ।

बिहानको खाना सकभर घरबाटै खाएर जानुहोस्। सक्नुहुन्छ भने आफ्नो खानेकुरा प्याक गरेर लैजानुहोस्। सक्नुहुन्न भने खानेकुरा के खानुहुन्छ, त्यसमा विशेष ध्यान दिनुहोस्। प्रायः हाम्रो खाजा भनेको मैदाले बनेको परिकार हुन्छ; जस्तै, समोसा, मम, चाउमिन। यस्ता खानेकुरा सकेसम्म नखानुहोस्। यसको सट्टा बरु चिउरा, तरकारी, रोटी, उसिनेको अण्डा मिलाएर खानुहोस्। मिल्छ भने घरबाट सलादहरू पनि बोकेर लैजानुहोस्। कामको तनाव अलि कम गर्नुहोस्, धेरै तनाव नलिनुहोस्। खानेकुराको समय तालिका मिलाएर र औषधि नछुटाईकन लिनुपर्ने हुन्छ।

औषधि छोड्दा के हुन्छ ?
तपाईंलाई मधुमेह भइसकेको छ र औषधि खाने गर्नुभएको छ भने आफैँ औषधि नछोड्नुहोस्। किनभने यो दीर्घ रोग हो। औषधि नछाड्ने, आफ्नो जीवनशैली मिलाउने। मधुमेहको उपचार भनेको औषधि मात्र होइन, यसको सबैभन्दा फाइदा गर्ने उपचार भनेको आफ्नो जीवनशैली हो। त्यो भनेको खानपान मिलाउनुपर्‍यो। तौल यदि बढी छ भने तौल घटाउनुपर्‍यो। धुम्रपान, मद्यपान गर्नुहुन्छ भने यी दुवै कुरालाई छोड्नुहोस्। मधुमेह भएका व्यक्तिमा उपचार गर्ने भनेको जटिलताहरूबाट बचाउनका लागि हो। जटिलताहरूबाट बचाउनका लागि जीवनशैली पनि सुधार्नुपर्ने हुन्छ। र चौथो भनेको तपाईंलाई बोलाएको समयमा परीक्षण गर्नुहोस्। वर्षको एकपटक आफ्नो आँखा, मिर्गौला लगायत अरू जाँच गर्नुपर्ने परीक्षणहरू गर्नुहोला। र सकारात्मक सोच राख्नुहोस्।

ध्यान दिनुपर्ने कुरा
हामीले के कुरा याद गर्नुपर्छ वा ध्यान दिनुपर्छ भने, मधुमेह भएको प्रायः व्यक्तिलाई थाहा हुँदैन कि मलाई मधुमेह छ भनेर। ‘मलाई मधुमेहको लक्षण छैन, त्यही भएर म किन परीक्षण गर्ने?’ भनेर सोच्नुहुन्छ। तर, ५० प्रतिशत व्यक्तिहरूमा मधुमेह भइसकेपछि पनि कुनै पनि लक्षणहरू हुँदैनन् । त्यसकारण तपाईं ३० वर्ष कट्नुभएको छ भने कृपया वर्षको एकचोटि आफ्नो स्वास्थ्य जाँचमा एउटा सुगरको जाँच पनि राख्नुहोस् ।  किनभने यो एउटा सामान्य परीक्षण हो। तपाईं बिहानको समयमा खाली पेटमा गएर रगत दिनुभए हुन्छ, दिनभरि कुर्नुपर्दैन । तपाईंमा लक्षण छैन भने पनि वर्षको एक पटक सुगर परीक्षण गर्नुहोस् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − 1 =