एमालेबाटै राजनीतिक यात्रा निरन्तरता दिन चाहन्छु : विद्या भण्डारी (भिडिओ)

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेमा आफ्नो पार्टी सदस्यता विधिपूर्वक नविकरण भइसकेको स्पष्ट पार्दै यस विषयमा अनावश्यक विवाद सिर्जना गर्न आवश्यक नरहेको बताएकी छन् ।

शुक्रवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भण्डारीले राष्ट्रपतिको कार्यकालपछि देशको सामाजिक, आर्थिक, राजनीतिक विषयमा अध्ययन, मनन गर्दै पार्टी राजनीतिमा पुनः सक्रिय हुने निर्णय अनुसार सदस्यता नविकरण गरिएको बताइन् ।

‘राष्ट्रपतिको कार्यकाल सकिएपछि म सामाजिक, आर्थिक र अन्तर्राष्ट्रिय राजनीतिक परिवेशको अध्ययन र मननमा थिएँ । राजनीतिक यात्रालाई पार्टीमा आवद्ध भएर अगाडि बढाउने निष्कर्षमा पुगेपछि मैले पार्टी सदस्यता नविकरण गरेकी हुँ,’ उनले भनिन् ।

पूर्वराष्ट्रपति भण्डारीले २०८२ साल असार १४ गते जननेता मदन भण्डारीको ७४औं जन्मजयन्तीको अवसर पारेर आयोजित कार्यक्रममा नेकपा एमालेको सदस्यता नविकरण सार्वजनिक रूपमा घोषणा गरेकी हुन् । उनले पार्टी कार्यालय, नेताहरू र शुभेच्छुकहरूको हवाला दिँदै सञ्चारमाध्यममा सदस्यता नविकरणसम्बन्धी समाचार आएपछि आफू चुप लागेर बस्नु उपयुक्त नठानेको पनि बताइन् ।

‘म पार्टीको सदस्य भएर क्रियाशील हुने सन्दर्भमा निर्णयमा पुगेपछि सदस्यता नविकरण गरिएको हो । यसको औचित्य एमालेसँगको मेरो राजनीतिक यात्रा निरन्तरता दिने हो,’ उनले भनिन् ।

भण्डारीले नेकपा एमालेको केन्द्रीय कमिटीसहितका विभिन्न तहमा आफ्नो सदस्यता विषयमा छलफल भएको विषयमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत थाहा पाएको उल्लेख गर्दै यसअघि पनि पार्टी नेताहरू र पार्टी अध्यक्षसँग पटक–पटक छलफल भएको जानकारी दिइन् ।

‘मैले अध्यक्ष ओलीसँग पछिल्लो भेटमा सदस्यता नविकरण विधिपूर्वक गरिसकेको जानकारी गराएकी थिएँ । त्यसको भोलिपल्ट केन्द्रीय कमिटीले सदस्यता नविकरण नभएको निर्णय गरेको थाहा पाएँ,’ उनले भनिन् ।

पूर्वराष्ट्रपति भण्डारीले आफ्नो सदस्यता विधिसम्मत रूपमा नविकरण भइसकेको दोहोर्याउँदै यसलाई विवादको विषय बनाउन नहुने स्पष्ट पारिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =