तराई–मधेसमा देखिएको सुक्खा समस्या समाधानमा सरकार लागेको छ : प्रधानमन्त्री ओली

वीरगञ्ज । प्रधानमन्त्री केपी शर्मा ओलीले तराई–मधेसले अहिले सुक्खाको समस्या भोगिरहे पनि बारा जिल्लामा धान रोपेको खेत देख्दा आफूलाई खुसी लागेको बताएका छन् ।
बाराको परवानीपुर गाउँपालिकाको नवनिर्मित भवनको आज उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने “आज तराई–मधेसमा सुक्खाले समस्या बनाएको छ, यद्यपि बारामा आइपुग्दा धान रोपेका खेत देख्न पाउँदा खुसी लागेको छ ।”
उनले दुई दिनअघि मात्रै सरकारले मधेस प्रदेशलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिसकेको पनि बताए ।
प्रधानमन्त्री ओलीले तराई–मधेसमा सिँचाइ र खानेपानीको प्रबन्धको लागि डिप बोरिङलगायत योजना अघि सारिएको पनि बताए । “यहाँको सुक्खा समस्या समाधानका लागि सरकारले सक्रियता साथ काम गरिरहेको छन्, गृह मन्त्रालय र प्रशासनको तर्फबाट आवश्यक काम भइरहेको छ”, उनले भने ।
प्रधानमन्त्री ओलीले तराई–मधेसको सुक्खाग्रस्त क्षेत्रको दीर्घकालीन रुपमा चुरेको संरक्षण र सम्वद्र्धनका लागि ठूलठूला तालतलैयाहरुको निर्माण अबको आवश्यकता रहेको औँल्याए ।
“यदि चुरेको संरक्षण गर्न सकिएन भने सुक्खाको समस्या अझ बढ्दै जान्छ, पानीको सतह झनै गहिरिँदै जानेछ”, उनले भने “पानीको सतह नगहिरियोस् र सिँचाइको समस्या नहोस् भनेर नै हामीले सुनकोशी मरिण डाइभर्सन आयोजना अघि बढाएका थियौँ ।” यद्यपि उनले सुनकोशी मरिण डाइभर्सन आयोजनाले सुस्त गतिमा काम गरेकामा असन्तुष्टि व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले सुनकोशी मरिण डाइभर्सन सम्पन्न भएपछि यहाँको देखिएको सिँचाइको समस्या धेरै हदसम्म समाधान हुने बताए । “उक्त आयोजनाबाट मधेस प्रदेशका पाँच जिल्लामा १८५ हजार बिघा जमिन सिँचाइ गर्न सक्छौँ”, उनले भने “यहाँको उत्पादन दोब्बर मात्रै होइन् चारदेखि छ गुणासम्म वृद्धि गर्न सकिन्छ ।”
प्रधानमन्त्री ओलीले सुनकोशी–लाहान–सुनकोशी –कमला लगायतका सिँचाइ आयोजना अघि बढाउने गरी सरकारले तयारी गरिरहेको समेत जानकारी दिए ।








