संरक्षणको पर्खाइमा ऐतिहासिक ’ठूलढुङ्गा’

लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–७ करापुटारस्थित इशानेश्वर महादेव मन्दिरदेखि ५०० मिटर नजिक मादी नदी किनारमा एउटा ठूलो ढुङ्गा छ । जुन पौराणिक कथा बोकेको ऐतिहासिक ढुङ्गा हो ।

यो ढुङ्गा सात दिने सुत्केरीले गाडेको भन्ने किम्वदन्ती छ । तर हालसम्म यसको संरक्षणमा कुनै निकायले खासै चासो दिएको पाइँदैन । वि.सं १८२९ (शाके १६९४) मा राजा वीरनारयणका पत्नीहरू शालधरा, सकलान र कुमारी गरी यी तीन शिव पार्वतीका भक्तहरूले इशानेश्वर महादेवको नाममा शिवरात्रि र फकिर, जोगी, साधुसन्तका निम्ति सात बीस अर्थात् १४० मुरी खेतको गुठी, अन्न सङ्कल्प गरी दान गरिएको अभिलेख यस ढुङ्गामा कुँदिएको छ । हाल सो गुठीको जग्गा मोहीहरूको नाममा दर्ता भइसकेको छ ।

सो ठूलो ढुङ्गामा लेखिएको छ, ‘श्री शाके सोह्रसय चौरानब्बे सहकाल गणिके लेखे श्री वीरनारायण, शालाधरा, सकलान, कुमारी इ तीन प्रभुजिके धर्म कर्म परबह्म ज्ञानिके सात बीस अन्न सङ्कल्प कालु मौखिके अतित पथी फुकुरा खलो सदवार्तातुही लिखे वीरनारायण साध्वा पत्नी शालधरा सकलान कुमारी तु तृतीया धर्म परायणा तेषामेत द्वान्न एवं दम्पतिना कुमारी क्षितिस्वारा रक्षतु प्रिताये भुयाद भवानी विश्वनाथायो शाके १६९४ ।’ यो अभिलेखले पनि यस ढुङ्गाको ऐतिहासिकतालाई स्पष्ट पारेको छ । यसलाई घोटेर सफा गरेर पढ्न सकिने महादेव मन्दिरका पूर्व अध्यक्ष एवं शिक्षक रामचन्द्र घिमिरेले बताए ।

केही वर्ष अघिसम्म सोही ढुङ्गाको नजिकै मादी नदी किनारमा फागु पूर्णिमामा छेलो हान्ने प्रतियोगिता हुने गथ्र्यो । ठूलो सङ्ख्यामा कास्की, तनहुँ र लमजुङका सर्वसाधारण मेला भर्न आउँथे । हाल सो मेला पर्व समेत लाग्न छाडेको छ । यहाँ हरिबोधानी एकादशीमा फूल तार्ने गरिन्थ्यो । त्यो पनि बिस्तारै लोप हुँदै गएको स्थानीय बताउँछन् ।

यस ढुङ्गाको महत्त्व बुझेर संरक्षण गर्नेतर्फ कसैले चासो नदिएको स्थानीय नरबहादुर गुरुङले बताए । हाल इशानेश्वर महादेव क्षेत्र विकास समितिले मन्दिरसँग जोडिएको हुनाले भक्तजनहरूलाई अभिलेखको जानकारी गराउँदै यसलाई पर्यटकीय स्थान बनाउने र ढुङ्गालाई संरक्षण गर्ने तयारी रहेको इशानेश्वर महादेव क्षेत्र विकास समितिका अध्यक्ष गुणराज घिमिरेले बताए ।

सोही वडाका अध्यक्ष हीराबहादुर गुरुङ र नगर प्रमुख रमेशकुमार पाण्डेले यसको संरक्षण र जगेर्ना अति जरुरी रहेको बताउँदै बजेट विनियोजन गर्ने प्रतिबद्धता गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =