पैसा कमाउन बैंगलोर जान्छु भनेर नेपाल आएका थिए भक्तपुरमा मृत भेटिएकी दिदीबहिनी

काठमाडौं । आज बिहान भक्तपुरको सिन्टीटारमा दुई किशोरी मृतवस्थामा फेला परे ।
मृत भेटिनेमा सुर्खेत पञ्चपुरी नगरपालिका–८ की १७ वर्षीया मेनुका कँडेल र १५ वर्षीया सिर्जना कँडेल हुन् । उनीहरूले घरको प्यासेजमा एउटै डोरीमा झुन्डिएर आत्महत्या गरेका थिए ।
उनीहरू स्थानीय निरज चक्रधरको दुई तले घरको भुईँ तलामा डेरा गरी बसेका थिए । उनीहरू यहाँ आएर बस्न थालेको एक महिना पनि भएको छैन । उनीहरू भारतबाट भागेर नेपाल आएका थिए ।
भारतमा आमाबुवासँग बस्दै आएकी मेनुका र सिर्जना भारतमै कम्प्युटर कलास लिन्थे । भारतमा आमाबुवा काम गर्ने र मेनुका र सिर्जनाले आमाबुवालाई सघाउँथे । खाली समयमा उनीहरू कम्प्युटर सिक्ने गर्थे ।
कम्प्युटर कलास सकेर उनीहरू साँझ घर फर्किन्थे । खाना बनाउने र घरायसी काम दिदिबहिनिले नै गर्दै आएका थिए ।
तर, अन्दाजी १८÷१९ दिनअघि भने उनीहरू कम्प्युटर कलास सकेर घर फर्किएनन् । आफ्ना छोरीहरू घर नफर्किएपछि आमाबुवाले खोजी थाले । नेपालमा भएका आफन्तलाई खबर गरे ।
उनीहरूको अवस्थाबारे कतै जानकारी पाइएन । तर, घरबाट हराएको तीन दिनपछि भने १५ बर्षिया सिर्जनाले आमालाई मेसेज गरिन् । उनले आफूहरू पैसा कमाउन भारतकै बैंगलोर गएको बताइन् । र आफूलाई नखोज्न आग्रह गरेर फेसबुकमा ब्लक गरिन् ।
छोरीको यस्तो मेसेज देखेपछि आमाबुवाले र परिवारले पनि खोजी गर्न छाडे । यता, उनका हजुरबुबा (बाजे) अनन्तलाल कँडेलले भने वडा कार्यालयलाई आफ्ना नातिनीहरू हराएको बारे जानकारी गराएका थिए । वडाध्यक्ष दीपक थापाका अनुसार केही दिन अघि अनन्तलाल आएर नातिनी हराएको बारे मौखिक जानकारी गराएका थिए ।
‘केही दिन अघि अनन्तलाल हामीलाई भेट्न आउनु भएको थियो, नातिनी हराइन भनेर मौखिक जानकारी गराउनुभएको थियो, पछि आमालाई मेसेज गरेर पैसा कमाउन गएको भनेर भनेपछि हामीले पनि वास्ता गरेनौँ,’ वडाध्यक्ष थापाले मकालुखबरसँग भने ।
वडाध्यक्ष थापाका अनुसार उनीहरूलाई कसैले फकाएर नेपाल ल्याएको हुनसक्छ । पारिवारिक बेमेल पनि नभएको र पारिवारिक अवस्था पनि राम्रो रहेको बताउँदै उनले कसैको लहलहैमा लागेर उनीहरू घरबाट भागेको हुन सक्ने वडाध्यक्ष थापा बताउँछन् ।
पैसा कमाउन बैंगलोर गयौँ भनेका दिदी बहिनी आज बिहान मृत अवस्थामा भेटिएपछि गाउँ नै शोकमा डुबेको वडाध्यक्ष थापा बताउँछन् । घटनाबारे प्रहरीले परिवारलाई खबर गरिसकेको छ । भारतबाट बाबुआमा पनि नेपाल फर्किंदैछन् ।
प्रहरी वृत्त थिमिका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज ढुङ्गानाले घटनाबारे अनुसन्धान भइरहेको बताए ।








