एमआरपीमा देखिएको अन्यौलताबारे चेम्बरद्वारा उद्योगमन्त्रीसहित व्यवसायीसँग वृहत् अन्तरक्रिया

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले खुद्रा बिक्री मूल्य एमआरपी कार्यान्वयनमा देखिएको समस्याबारे उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको उपस्थितिमा निजी क्षेत्रका उद्यमी व्यवसायीहरुसंग वृहत् अन्तरक्रिया गरेको छ ।

एमआरपी कार्यान्वयनमा देखिएको अन्यौलता एवं पर्याप्त जनचेतना नहुँदा आम उपभोक्तामा परेको असरबारे चेम्बरले सरकारको ध्यानाकर्षण समेत गराएको छ ।

काठमाडौँको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा मन्त्री भण्डारीको उपस्थितिमा चेम्बरका पदाधिकारी एव निजी क्षेत्रका १ सय ५० भन्दा बढी उद्यमी व्यवसायीहरूले सहभागिता जनाएका थिए ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले मन्त्री भण्डारी समक्ष सरोकारवाला निकायसँग सर्वपक्षीय छलफल र सहमतिको आधारमा मात्रै एमआरपीलाई कार्यान्वयन लैजानुपर्ने बताए ।

अध्यक्ष अग्रवालले भने ‘वाणिज्य आपूर्ति एवं उपभोक्ता संरक्षण विभागले केही समय देखि बजारमा कडा अनुगमन सुरु गरेको छ र एमआरपी उल्लेख नभएको पाइएमा अधिक जरिवाना लाग्ने गरेको छ, ।’

देशमा अधिकांश उपभोग्य सामानका लागि आयातमा नै निर्भर हुनुपरेकाले एमआरपी लेबलको व्यवस्था आयातित बस्तुहरूको हकमा लागु गर्न निकै कठिन हुने अध्यक्ष अग्रवालले बताए ।
भन्सारमा सन्दर्भ मूल्यको व्यवस्था कायमै रहेकाले भन्सार प्रयोजनका लागि विश्व व्यापार संगठनको मान्यता अनुसार कारोबार मूल्यलाई मान्यता दिनुपर्ने अध्यक्ष अग्रवालले बताए ।

व्यावसायिक र औद्योगिक वातावरण शिथिल रहेको वर्तमान अवस्थामा हाल विभागले अत्यधिक जरिवाना गरी अनुगमन गरेको क्रियाकलापले व्यावसायिक वातावरण थप बिग्रन सक्ने अध्यक्ष अग्रवालले बताए ।

उनले भने ‘गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकार हो, उक्त अधिकारबाट उपभोक्तालाई वञ्चित हुन नदिन तथा बजार र माल बस्तुकाबारे हरेक विषयमा चेतना अभिवृद्धि गर्न प्रचार प्रसार तथा सचेतनाका कार्यहरू अगाडी बढाइनु पर्ने अहिलेको आवश्यकता देखिएको छ ।,’

कार्यक्रममा निजी क्षेत्रका अधिकांश पदाधिकारीहरूले निजी क्षेत्रका एमआरपी र लेवलिङको नाममा भएको अनुगमनका कारण व्यवसायीले अनावश्यक दुःख पाउनुपरेको गुनासो गरेका थिए । एमआरपीको बारेमा अधिकांश व्यवसायी र उद्यमीलाई जानकारी समेत नभएको उनीहरूको भनाई छ ।

चेम्बरमा आयोजित छलफलमा मन्त्री भण्डारीले सरोकारवाला निकायहरूसँगको समन्वयमा अविलम्ब थप छलफल गरी मात्रै एमआरपी कार्यान्वयन प्रक्रियालाई आवश्यकता अनुसार अघि बढाइने बताए ।
छलफलमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा राम प्रसाद घिमिरेको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + four =