पर्यटन प्रवर्धनका लागि मौलिक संस्कृति र सम्पदाको संरक्षण

म्याग्दी । पर्यटन प्रवर्धनका लागि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानमा मौलिक संस्कृति र सम्पदा संरक्षण गर्न थालिएको छ । यस वडामा बाहुल्य बसोबास रहेको मगर समुदायको मौलिक सम्पदा भूमे थान, धार्मिक स्थल गिद्धेश्वर मन्दिर, कला र संस्कृतिको संरक्षण तथा व्यवस्थापनमार्फत पर्यटन प्रवर्धनको प्रयास थालिएको हो ।

भूमे पूजा गर्ने संस्कृतिको निरन्तरताका लागि थानहरूको संरक्षण, मौलिक पुख्र्यौली नृत्यको पुस्तान्तरण र जनजीवनमा प्रयोग हुने सामग्रीहरूको संरक्षणका सङ्ग्रहालय भवन बनाइएको अन्नपूर्ण–७ का वडाध्यक्ष मइलन गर्बुजा पुनले जानकारी दिए ।

मगर समुदायमा भूमे थानको धार्मिक र सांस्कृतिक महत्त्व छ । भूमे थानमा यस समुदायले प्रकृतिको पूजा गर्छन् ।

धार्मिक स्थल र संस्कृति संरक्षणको साथै पर्यटन प्रवर्धन गर्ने उद्देश्यले यस वर्ष हिस्तानको घराम्दी र रिमास्थित भूमेथानमा पूर्वाधार निर्माण गरेको वडा अध्यक्ष पुनले बताए ।

‘गाउँपालिकाको रु नौ लाख बजेटबाट घेराबार, पदमार्ग र पर्खाल बनाएर संरक्षण गरिएको हो । रिमाको भूमेथानमा समुदायले आर्थिक सहयोग जुटाएर निरन्तरता दिएका छन्’, उनले भने, ‘१२ लाख बजेटबाट घराम्दीको भूमेथान वरपर तारजाली लगाएर घेराबार, खानेपानी, सार्वजनिक शौचालय, पदमार्ग र आश्रय स्थल निर्माण भएका छन् ।’

प्रधानमन्त्री रोजगार कार्यक्रमको छ लाख ९० हजार बजेटबाट घराम्दी गाउँबाट भूमेथान जोड्ने ढुङ्गाको सिँढीसहितको पदमार्ग निर्माण भएको छ ।

भूमेथान वरपर पर्खाल, तारबार र फलामको घेराबार गरेपछि दुर्घटनाको जोखिम हटेको अन्नपूर्ण–७ का वडा सदस्य गेमबहादुर पुनले बताए ।

‘पूजाआजाको समयमा भिडभाड हुँदा साँघुरो ठाउँमा लडेर दुर्घटना हुने जोखिम थियो’, उनले भने, ‘घेराबार, पदमार्ग र खानेपानीलगायत पूर्वाधार बनेपछि सहज र सुरक्षित भएको छ ।’ भूमेपूजाका लागि सहरबजार र विदेशमा गएकाहरू पनि आफ्नो जन्मथलो फर्कंदा चहलपहल हुन्छ ।

‘म्याग्दीका सबै मगर बस्तीमा जेठ महिनामा भूमे पूजा गर्ने चलन छ । केही ठाउँमा मङ्सिरमा भूमे पूजा गरिन्छ । गाउँलेहरू भेला भएर साझा रूपमा भूमे पूजा गरेर भोज र मगर संस्कृतिमा आधारित पुख्र्यौली नाच प्रस्तुत गर्छन्’, उनले भने ।

विपद् र अनिष्ट नहोस् भन्ने कामनासहित भूमेको थानमा भेँडाको साँढेको बलि चढाएर नाचगान गर्दै जमिन र प्रकृतिको पूजा गर्ने चलन रहेको अन्नपूर्ण–७ का पूर्व वडाध्यक्ष गमप्रसाद फगामीले बताए ।

उनका अनुसार अन्नपूर्ण गाउँपालिकाले टिकोटमा पर्यटक आकर्षित गर्न, भुलाउन र परम्परागत मौलिक सामग्रीको संरक्षण गर्न सङ्ग्रहालय स्थापनाका लागि भवन बनाइएको छ ।

पछिल्लो दुई आर्थिक वर्षमा विनियोजन भएको २९ लाख बजेटबाट निर्माण भएको दुईतले भवनमा दैनिक जीवनयापनमा प्रयोग हुने परम्परागत मौलिक सामग्री सङ्कलन गरेर राखिने वडा सदस्य बुद्धिवीर पुनले बताए ।

यसैगरी, हिस्तानको औलास्थित धार्मिक स्थल गिद्धेश्वर मन्दिर जोड्ने पदमार्गलगायत पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्षमा १५ लाख बजेट विनियोजन भएको छ ।

विभिन्न टोलका पुख्र्यौली नृत्य समूहलाई पोसाक सहयोग र युवा पुस्तालाई कला हस्तान्तरणका लागि प्रशिक्षण सञ्चालन भएका छन् ।

हिस्तानको घराम्दीस्थित प्यारीबाराही तालको वरपर पदमार्ग निर्माण र तालमा उम्रिएको झार निकालेर सफा गरिएको छ । गुराँसे जङ्गलका बिचमा रहेको हिस्तानको फूलबारीमा गुराँस पार्क बनाइएको छ ।

अन्नपूर्ण–धौलागिरि सामुदायिक पर्यावरणीय र करवाकेली पदमार्गमा समेटिएको हिस्तानको आकर्षण प्रकृति र संस्कृति हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + one =