एनआईसी एशिया बैंकको २८ वर्षे यात्रा : वित्तीय समावेशितादेखि डिजिटल नेतृत्वसम्म

काठमाडौं । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ को नारालाई आत्मसात् गर्दै लाखौं ग्राहकको मन जित्न सफल एनआईसी एशिया बैंकले आफ्नो स्थापनाको २७ औं वसन्त पार गरी २८ औं वर्षमा प्रवेश गरेको छ । करिब तीन दशक लामो यस यात्रामा बैंकले आफूलाई देशकै एक सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी वित्तीय संस्थाको रूपमा स्थापित गरेको छ ।

यस अवसरमा बैंकले आफ्ना ग्राहक, नियामक निकाय, शेयरधनी, कर्मचारी लगायत सम्पूर्ण सरोकारवालाहरू प्रति कृतज्ञता ज्ञापन गरेको छ । बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाँले यस अतुलनीय यात्रालाई सफल बनाउन निरन्तर साथ दिने सबैप्रति हार्दिक आभार प्रकट गरेका छन् । उनले भने, ‘यहाँसम्मको यात्रा हाम्रा आदरणीय ग्राहक महानुभावहरू, नियामक निकाय, शेयरधनीहरू र कर्मचारीहरूको अगाध स्नेह र भरोसा बिना सम्भव थिएन। आज हामी जे छौं, त्यसको सम्पूर्ण श्रेय वहाँहरूलाई नै जान्छ ।’

स्थापनाकालदेखि नै ग्राहक केन्द्रित सेवालाई प्राथमिकतामा राखेको एनआईसी एशिया बैंकले ‘डिजिटल फष्ट बैंक’ बन्ने रणनीतिक लक्ष्यका साथ आफ्नो भौतिक उपस्थितिलाई पनि उत्तिकै दरिलो बनाएको छ । देशभर ३६० शाखा कार्यालय, ६७० एटीएम, ११८ विस्तारित काउन्टर र ५१ शाखारहित बैंकिङ सञ्जालमार्फत बैंकले लाखौं ग्राहकमाझ आफ्नो गतिशील बैंकिङ सेवा विस्तार गरेको छ । यसै सञ्जालको बलमा बैंकले देशको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशतलाई सेवा दिन सफल भएको दाबी गरेको छ ।

शहरी क्षेत्रमा मात्र सीमित नभई, एनआईसी एशिया बैंकले वित्तीय पहुँचलाई देशको कुनाकाप्चासम्म पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेको छ । मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला र सल्यान जस्ता बैंकिङ पहुँच कम भएका दुर्गम जिल्लाहरूमा समेत शाखा विस्तार गरी बैंकले वित्तीय समावेशीकरणमा ठोस योगदान पुर्‍याएको छ । कुनै पनि बैंक तथा वित्तीय संस्था नपुगेका ३४ भन्दा बढी स्थानीय तहमा शाखा खोलेर सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ ।

आगामी दिनमा अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री र अनुकरणीय बैंकिङ अनुभव प्रदान गर्ने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ । देशको अर्थतन्त्रको सबलीकरण र उच्च आर्थिक वृद्धिमा टेवा पुर्‍याउन एक उत्तरदायी बैंकिङ अभ्यासलाई निरन्तरता दिने बैंकको योजना छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − six =