गणतन्त्रको गौरवको रूपमा रहेको व्यक्ति राजनीतिमा प्रवेश गर्नु गम्भीर : ओली

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिक भूमिकाबारे नेकपा (एमाले) ले केन्द्रीय कमिटीबाट निर्णय गर्ने भएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार च्यासलस्थित पार्टी मुख्यालयमा बसेको पोलिटब्युरो बैठकमा उक्त जानकारी दिएका हुन् ।

अध्यक्ष ओलीका अनुसार, पूर्वराष्ट्रपति भण्डारीको पार्टीमा भूमिकाबारे पार्टीले उचित समयमा निर्णय गर्ने छ।

बैठकमा भण्डारीको पार्टी सदस्यता नवीकरण र पुनः सक्रिय राजनीतिमा प्रवेशको विषयमा छलफल भएको छ ।

तर, पार्टीभित्र यस विषयमा मतभेद देखिएको छ । एक पक्षले राष्ट्रपति जस्तो गरिमामय पद सम्हालेकी व्यक्तिलाई सक्रिय राजनीतिमा ल्याउनु उपयुक्त नहुने धारणा राखेको छ भने अर्को पक्षले भने भण्डारीको अनुभव र योगदानलाई मूल्याङ्कन गर्दै पार्टीमा भूमिका दिनुपर्ने मत राखेको छ ।

बैठकमा अध्यक्ष ओलीले राष्ट्रपति जस्तो संवैधानिक र गरिमामय पदमा पुगेकी व्यक्तिको राजनीतिमा पुनः प्रवेशको कुरा गम्भीर भएको बताए । ओलीका भनाइ उद्धृत गर्दै एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने, ‘राष्ट्रपति जस्तो गरिमामय पदमा पुगिसकेको व्यक्तिले, परमाधिपति भइसकेको, गणतन्त्रको गौरवको रूपमा रहेको व्यक्ति राजनीतिमा प्रवेश गर्नेकुरा गम्भीर रहेको कुरा बैठकमा अध्यक्ष ओलीले बताउनुभयो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =