ग्लोबल आइएमई समुन्नत योजना-२ मा लगानीकर्ताको ओइरो, मागभन्दा बढी आवेदन परेपछि बिक्री बन्द

काठमाडौं । ग्लोबल आइएमई क्यापिटलले निष्काशन गरेको ‘ग्लोबल आइएमई समुन्नत योजना-२’ म्युचुअल फन्डमा लगानीकर्ताको उत्साहजनक आकर्षण देखिएको छ । निष्काशन खुलेको केही दिनमै मागभन्दा अत्यधिक बढी आवेदन परेपछि योजनाको इकाई बिक्री आज (आषाढ २७ गते) बैंकिङ्ग समयपश्चात् बन्द गरिने भएको हो । 

ग्लोबल आइएमई बैंक कोष प्रवर्द्धक तथा ग्लोबल आइएमई क्यापिटल योजना व्यवस्थापक रहेको यो योजनाले गत आषाढ २२ गतेदेखि प्रतिइकाई १० रुपैयाँ अंकित दरका कुल १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई निष्काशन गरेको थियो । जसमध्ये १ अर्ब २ करोड रुपैयाँ बराबरको १० करोड २० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरिएको थियो ।

बिक्री खुला भएको छोटो अवधिमै लगानीकर्ताहरूको उल्लेख्य सहभागिता र मागभन्दा बढी आवेदन परेकाले निर्धारित समयअगावै निष्काशन बन्द गर्न लागिएको क्यापिटलले जनाएको छ । कम्पनीले मागभन्दा २५ प्रतिशतसम्म बढी आवेदन संकलन गरी योजनाको आकार १ अर्ब ५० करोड रुपैयाँसम्म पुर्‍याउन सकिने प्रक्षेपण गरेको छ । लगानीकर्ताको यो उत्साहले योजना पूर्ण रूपमा ‘ओभर सब्सक्राइब’ हुनेमा क्यापिटल विश्वस्त छ ।

पछिल्लो समय नेपालको धितोपत्र बजारमा म्युचुअल फन्डप्रति लगानीकर्ताको बढ्दो विश्वासलाई यो आकर्षणले पुनः एकपटक पुष्टि गरेको छ । क्यापिटलले एक विज्ञप्ति जारी गर्दै यस निष्काशन कार्यलाई सफल बनाउन सहयोग पुर्‍याउने नियामक निकायहरू, आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, सम्पूर्ण शुभेच्छुकहरू, लगानीकर्ता आवेदकहरू, सञ्चारमाध्यम तथा सम्बन्धित सबैमा हार्दिक कृतज्ञता ज्ञापन गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =