पहिचानबिनाको जीवनः नागरिकता बिना अस्तित्व खोज्दै विनिता

काठमाडौं । तनहुँ जिल्लाको भानु नगरपालिका–११, रुपाकोटमा बसोबास गर्दै आएकी विनिता विक विगत १२ वर्षदेखि नागरिकताको अभावमा आफू र छोरीको अस्तित्वका लागि संघर्षरत छिन् ।

उमेरले ३० वर्ष पुगिसकेकी विनितासँग नागरिकता प्रमाणपत्र छैन, घर छैन, परिचय खुलाउने कुनै आधिकारिक कागजात छैन । सँगै छिन् त केवल १२ वर्षीया छोरी ।

जिविकोपार्जनका लागि उनले भानु नगरपालिका–११ मा रहेको एक स्थानियको घरमा काम गर्दै आएकी छन् । दैनिक गुजारा चलाउनका लागि अरुको घरमा श्रम दिनुपर्ने, तर कानुनी अभिलेख नभएकै कारण राज्यका आधारभूत सेवाबाट वञ्चित हुनुपरेको उनको दुःख सुन्दा मन थाम्न मुस्किल पर्छ ।

विनिताको जीवन सुरुदेखि नै सहज थिएन । बाबु–आमा दुवै अपाङ्ग, आर्थिक अवस्था अत्यन्तै कमजोर । घरमा चुल्हो बाल्न पनि मुस्किल, झन् छोरीको शिक्षा वा स्वास्थ्यको कुरा त परैको भयो । १३/१४ वर्षको उमेरमै उनी घरबाट भागेर काठमाडौं आएकी थिइन् । ‘सपना केही थिएन, केवल घरबाट टाढा भाग्न मन लागेको थियो,’ उनी भन्छिन् ।

विनिताले काठमाडौं पुगेपछि जे भेटियो, त्यो गरिन् । भाँडा माझ्ने, कोठा सफा गर्ने, तरकारी टिप्ने । ती सबै काम गर्दागर्दै उनको जीवनमा एक अपरिचित व्यक्ति आए । ‘उहाँ धेरै सहयोग गर्नुहुन्थ्यो, माया देखाउनुहुन्थ्यो,’ उनले विगत सम्झिंदै भनिन्, ‘तर उहाँको घर ठेगाना कहिले थाहा भएन । कहिले एक ठाउँ, कहिले अर्को नाम भन्नुहुन्थ्यो ।’

त्यही सम्बन्ध पछि विवाहमा परिणत भयो । तर विवाहसँगै अञ्जलीको जीवनमा एउटा नयाँ अध्याय सुरु भयो– हिंसा, शोषण र एक्लोपनाको ।

श्रीमानले माया गर्नुको साटो शंका, कुटपिट र मानसिक यातना दिन थाले । ‘गर्भवती हुँदा पनि मलाई कुट्नुहुन्थ्यो,’ उनी सम्झिन्छिन्, ‘बच्चा पेटमा हुँदा लाग्थ्यो कि म मर्छु कि बच्चा ।’ आखिरमा उनले श्रीमान छाडेर गए, कहाँ गए, कहिले फर्कने हुन्, केही पत्तो भएन ।

आफ्नो पेटमा बच्चा हुर्किरहेको थियो, मनमा भने असुरक्षा र निराशा । ‘मानसिक रोगले सतायो, औषधी खानुपथ्र्यो,’ उनी भन्छिन्, ‘तर पनि मैले बच्चा जन्माएँ । म मरेँ भने पनि उसलाई जिउन दिनुपर्छ भन्ने लाग्यो ।’

श्रीमानले छोडेपछि उनी छोरीलाई च्यापेर पुनः माइती गाउँ आइन् । तर माइतीबाट पनि उनलाई तातो ओछ्यानको आशा गर्न पाइएन । आमाबाबु नै अपाङ्ग, त्यसमा आर्थिक अवस्था झनै कमजोर । साथ पाउनुपर्ने ठाउँमा उनी एक्लिन पुगिन् ।

‘घर थिएन, बस्ने ठाउँ थिएन,’ उनी भन्छिन्, ‘वनको छेउमा एक भत्किएको घर थियो, त्यहीँ छोरी लिएर बस्न थालें ।’ आज पनि उनी त्यही घरमा बस्छिन्, जुन घर आधा भत्किएको, जताततै प्वाल परेका छ, जाडोमा चिसो, वर्षामा पानी छिर्छ ।

विनितालाई जसोतसो जीवन अगाडि बढाउनुपर्ने बाध्यता थियो । गाउँकै प्रकाश नाम गरेका व्यक्तिको घरमा उनले काम पाएकी छन् । बिहानदेखि बेलुकासम्म खाना पकाउने, सरसफाइ गर्ने र कहिले काहीं बारीको काम पनि गर्छन् । बापतमा थोरै पैसा, केही अन्न र बस्न दिने सहुलियत पनि पाएकी छन् । ‘गाउँमा आएपछि पनि अप्ठ्यारो थियो,’ उनी भन्छिन्, ‘घर थिएन, माइतीबाट पनि साथ पाइनँ । त्यसपछि वननजिकैको भत्किएको घरमा बसेर छोरी हुर्काइरहेकी छु ।’

तर नागरिकता नभएकै कारण उनले छोरीको जन्मदर्ता गराउन सकिरहेकी छैनन् । स्थानीय विद्यालयले भर्ना गर्नका लागि जन्मदर्ताको प्रमाणपत्र माग गरेको बताइन् । ‘मसँग नागरिकता नभएकाले छोरीको पनि जन्मदर्ता छैन,’ उनी भन्छिन्, ‘विद्यालयले कागज माग्छ, तर मसँग केही छैन ।’

स्थानीय तहमा नागरिकता वा जन्मदर्ता सम्बन्धी जानकारी लिन जाँदा उनलाई फेरि विवाह गर्नुपर्ने सुझाव दिइएको बताउँछिन् । ‘वडामा गएर नागरिकता मिलाइदिनुपर्‍यो भनेपछि भने, अर्को विवाह गर्नुपर्ने छ भने,’ उनी भन्छिन्, ‘तर अब म त्यसो गर्न चाहन्न । छोरीको भविष्य नै मेरो लक्ष्य हो ।’

उनको सपना भनेको छोरीलाई राम्रो शिक्षा दिई आत्मनिर्भर बनाउने हो । ‘छोरीलाई पढाएर केही बनाउन चाहन्छु,’ उनी भन्छिन्, ‘तर नागरिकता र जन्मदर्ता बिना त्यो सपना अधुरै हुने हो कि भन्ने चिन्ता छ ।’

विनिता जस्ता अभिलेखविहीन नागरिकहरूको समस्यालाई सम्बोधन गर्न सम्बन्धित निकायले विशेष पहल गर्नुपर्छ । संविधानले नागरिकताको हक प्रत्याभूत गरे पनि व्यावहारिक पहुँचको अभावमा विनिताहरू अझै पनि राज्यबाट टाढै रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =