सुर्खेतलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको जिल्ला घोषणा

कर्णाली । सुर्खेतलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको जिल्ला घोषणा गरिएको छ । जिल्ला समन्वय समिति सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित सभामार्फत ‘सुर्खेतलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको जिल्ला घोषणा’ गरिएको हो ।
सो अवसरमा कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले सुर्खेत पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको जिल्ला घोषणा हुनसकेकोप्रति बधाई ज्ञापन गर्दै यसको निरन्तरतामा जोड दिन आग्रह गए ।
बदलिएको व्यवस्थापश्चात् स्वास्थ्य जनशक्ति बढे पनि यसका सूचकहरूमा सुधार आउन नसकिरहेको बताउँदै मन्त्री भण्डारीले भने, ‘बढ्दो बसाइँसराइका कारण सुर्खेतमा वीरेन्द्रनगरजस्ता स्थानीय तहहरूमा चुनौती थपिएको छ । यसमा स्वास्थ्यकर्मीको सक्रियता र जिम्मेवारीपन बढी हुन आवश्यक छ । रोग निदानमा सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको सक्रियताले सहज भएको छ ।’
प्रदेश खोप समितिका संयोजक एवं सामाजिक विकास मन्त्रालयका सचिव अर्जुन गौतमले रोग निराकरणका लागि खोपले टेवा पुग्ने बताए ।
कर्णालीका सात जिल्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भइसकेकाले यो अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै उनले स्वास्थ्यकर्मी र स्वयंसेवकहरूको मनोबल उच्च राख्न ध्यान केन्द्रित गर्ने प्रतिबद्धता जनाए ।
विकटताको कारण खोप कार्यक्रममा अझै चुनौतीपूर्ण रहेको जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति सुर्खेत प्रमुख गङ्गाराम सुनारले बताए । वि.सं २०३५ देखि खोप कार्यक्रम सुर्खेतमा सुरु भए पनि पूर्ण खोप सुनिश्चितता र दिगोपनाको जिल्ला घोषणा हुन करिब आधा शताब्दी कुर्नुपरेको उनको भनाइ थियो ।









