पानी पर्‍यो भने रातभर निन्द्रा लाग्दैन, बच्चाहरुले घर छोडेर जाउँ भन्छन् –जाने ठाउँ छैन

मुगु । आकाशमा कालो बादल मडारिनासाथ कर्णाली प्रदेशको दुर्गम हिमाली जिल्ला मुगु, सोरु गाउँपालिका-८, तारापानीकी चन्दा योगीको मुटु हल्लिन्छ। तीन वर्षअघि बाढीले उनको ५ कठ्ठा जमिन र घर बगाएको त्रासदीपूर्ण स्मृति झलझली बल्झिन्छ । यस वर्षको मनसुन सुरु भइसकेको छ र पानी पर्न थालेसँगै तारापानीवासीको निद्रा खोसिएको छ ।

‘राती पानी पर्‍यो भने हामीलाई निन्द्रा लाग्दैन,’ चन्दा भक्कानिँदै भन्छिन्, ‘बच्चाहरू ‘आमा, घर छोडेर जाऊँ’ भनेर कराउँदा मन थामिँदैन ।’ तर घर छोडेर जाने सुरक्षित ठाउँ पनि कहाँ छ र ? पहाडको खोँचबाट उर्लिएर आएको रुम खोलो बस्ती नजिकैबाट बगिरहेको छ भने तलपट्टि मुगु कर्णालीको गड्गडाहटले झनै डर थप्छ ।

चन्दाको जस्तै पीडा र त्रास तारापानीका हरेक घरको कथा हो । विक्रम सम्वत २०७९ असोज १८ गतेको बाढीले यहाँको हराभरा गाउँको स्वरूप मात्र बदलेन, ६० घरधुरीमध्ये ७ घर पूर्ण रूपमा ध्वस्त पार्‍यो । तर तीन वर्ष बितिसक्दा पनि सरकारी राहत पीडितसम्म पुग्न सकेको छैन । ‘पीडितको तथ्यांक मिलेन’ भन्ने स्थानीय सरकारको जवाफले उनीहरूको घाउमा नुनचुक छर्किरहेको छ ।

सरकारी मौनता, संस्थाको मल्हम
संघ, प्रदेश र स्थानीय सरकारसम्म तटबन्धका लागि हारगुहार गर्दा पनि सुनुवाइ नभएपछि तारापानीवासी निराश छन् । ‘गाउँपालिका, वडा, संघ, प्रदेश कसैले हाम्रो कुरा सुनेनन्,’ स्थानीय विजय रावल गुनासो गर्छन् ।

यस्तो संकट र सरकारी उदासीनताबीच स्थानीय गैरसरकारी संस्था ‘जिएसएस’ उनीहरूका लागि ठूलो सहारा बनेको छ । सरकारले गर्न नसकेको काम संस्थाले गरेपछि स्थानीयको जीविकोपार्जनमा केही सहजता थपिएको छ । संस्थाले बाढीले क्षतविक्षत जमिन सम्याउन कृषि औजार, सिँचाइ कुलो, तरकारी खेतीका लागि बीउ र टनेल उपलब्ध गराएको छ । विपद्मा ज्यान जोगाउने तालिम र उद्धार सामग्रीसमेत दिएको छ ।

‘जिएसएस संस्थाले हामीलाई ठूलो सहयोग गरेको छ,’ स्थानीय मानबहादुर बुढा भन्छन्, ‘सिँचाइ कुलो बनेपछि ६० घरधुरी लाभान्वित भएका छौँ । तरकारी खेती गरेर आम्दानी गर्न सजिलो भएको छ। हामीलाई जुत्ता सिलाउने तालिम पनि दियो, अब फाटेका जुत्ता सिलाएरै महिनौँ लगाउँछौँ ।’

संस्थाको सहयोगमा ‘तारापानी विपद् समूह’ गठन गरी स्थानीयहरू आफैँ पहिरो पन्छाउने र वृक्षारोपणजस्ता काममा जुटेका छन्। तर, उनीहरूको मूल समस्या ज्युँका त्युँ छ । ‘जीविकोपार्जन त सजिलो भयो, तर बाढीको जोखिम उस्तै छ,’ चन्दा योगी थप्छिन्, ‘तटबन्ध बनेको भए ढुक्कले निदाउन पाइन्थ्यो ।’

जोखिममै सुरक्षा निकाय र उद्धार सामग्री
विडम्बना, विपद्को समयमा प्रयोग गर्न संस्थाले उपलब्ध गराएका लाइफ ज्याकेट, डोरी, त्रिपाल, बुटजस्ता उद्धार सामग्री राखिएको अस्थायी प्रहरी पोष्ट आफैँ जोखिममा छ । पोष्टको दुईतर्फ खोला छन् र अगाडि मुगु कर्णाली सुसाइरहेको छ । ‘विपद्को समयमा छिटोछरितो होस् भनेर उद्धार सामग्री तयारी अवस्थामा राखेका छौँ,’ अस्थायी प्रहरी पोष्टका हवल्दार चन्द्रबहादुर जिसी भन्छन्, ‘तर पानी पर्दा माथिबाट ढुंगा खस्ने र बाढीको दोहोरो जोखिम यहाँ पनि छ ।’

सोरु गाउँपालिकाका अध्यक्ष धरमबहादुर शाही पर्याप्त बजेट अभावका कारण जनचाहनाअनुसार विकास गर्न नसकिएको स्वीकार गर्छन्। उनी दुर्गम क्षेत्रको विकासमा गैरसरकारी संस्था र निजी क्षेत्रसँग सहकार्यका लागि संघीय सरकारले सहजीकरण गर्नुपर्नेमा जोड दिन्छन् । ‘नेपाल सरकारको बजेटले मात्र पूर्वाधार बनाउन सकिँदैन, दुर्गमका लागि संघसंस्थालाई विकासमा संलग्न गराउने नीति आवश्यक छ,’ उनले भने ।

अहिले तारापानीवासी गैरसरकारी संस्थाको सहयोगमा जीविकोपार्जनमा त जुटेका छन्, तर हरेक रात आकाश हेरेर अनि खोलाको सुसाइ सुनेर जाग्राम बस्नुपर्ने बाध्यताबाट मुक्त हुन सकेका छैनन् । उनीहरूको एउटै माग छ, ‘हाम्रो बस्ती जोगाइदेऊ, एउटा तटबन्ध बनाइदेऊ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + eighteen =