धितोपत्र बजार पुँजीकरणमा रेकर्ड ब्रेक, ४४ खर्ब २३ अर्ब पुग्यो

काठमाडौँ । पछिल्लो समय धितोपत्र बजारको पुँजीकरणले आफ्नो रेकर्ड ब्रेक गर्दै गएको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्यांकअनुसार २०८२ जेठ मशान्तसम्म धितोपत्र बजार पुँजीकरण ४४ खर्ब २३ अर्ब ४ करोड कायम भएको छ । गत वर्षको जेठ मसान्तमा बजार पुँजीकरण ३३ खर्ब ४९ अर्ब ४८ करोड रहेको थियो ।

त्यसअघि २०८० माघ मसान्तको अवस्था हेर्ने हो भने धितोपत्र बजार पुँजीकरण ३३ खर्ब २ अर्ब ८४ करोड कायम भएको थियो । अझ त्यसअघि अर्थात् २०७९ माघ मसान्तमा बजार पुँजीकरण ३० खर्ब ६१ अर्ब रहेको थियो । धितोपत्र बजारमा सूचीकृत सम्पूर्ण कम्पनीका सेयरको बजार मूल्यको कुल जोडलाई बजार पुँजीकरण भनिन्छ ।

बजारमा सूचीकृत धितोपत्रहरूको संख्या र तिनको आ–आफ्नो बजार मूल्य गुणन गरी जोड्दा बजार पुँजीकरण निकालिन्छ । यसले शेयर बजारको आकारलाई समेत जनाउँछ । यस्तो बजारको आकारमा रेकर्ड ब्रेक हुँदै गएको छ । राष्ट्र बैंकका अनुसार २०८१ जेठ मसान्तमा २११२.३० रहेको नेप्से सूचकांक २०८२ जेठ मसान्तमा २६५५.३९ कायम भएको देखिन्छ ।

यस्तै, जेठ मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २७२ पुगेको छ । सूचीकृत कम्पनीहरूमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९१ जलविद्युत् कम्पनी, २३ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ८ ओटा अन्य समूहका रहेका छन् । गत जेठमा सूचीकृत कम्पनीहरूको संख्या २७० रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ५२.१ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १६.१ प्रतिशत, लगानी कम्पनीको हिस्सा ८.० प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.५ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ५.३ प्रतिशत, होटेलको हिस्सा २.८ प्रतिशत तथा अन्य समूहका कम्पनीहरूको हिस्सा १०.२ प्रतिशत रहेको छ ।

यस्तै, नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८२ जेठ मसान्तमा सूचीकृत ८ अर्ब ८० करोड सेयरको चुक्ता मूल्य रु.८ खर्ब ६७ अर्ब २९ करोड रहेको छ ।

आर्थिक वर्ष २०८१/८२ को एघार महिनामा रु. २३ अर्ब ६३ करोड बराबरको बोनस सेयर, रु.२२ अर्ब ४० करोड बराबरको साधारण सेयर, रु.१२ अर्ब १५ करोड बराबरको हकप्रद सेयर, रु.१ अर्ब २५ करोड बराबरको म्युचुअल फण्ड, रु.११ करोड २० लाख बराबरको एफपीओ र रु.३ अर्ब ९६ करोड बराबरको अन्य सेयर गरी कुल रु.६३ अर्ब ५० करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु.१४ अर्ब ९५ करोड बराबरको हकप्रद सेयर, रु.१३ अर्ब बराबरको म्युचुअल फण्ड, रु.८ अर्ब ४२ करोड बराबरको डिवेन्चर र रु.२ अर्ब ७५ करोड बराबरको साधारण सेयर गरी कुल रु.३९ अर्ब १२ करोड बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =