चिकित्सकको आन्दोलनले वीर अस्पतालमा बिरामीको बिचल्ली

काठमाडौँ । उपभोक्ता अदालतको फैसलाको विषयलाई लिएर चिकित्सकहरू आन्दोलनमा उत्रिँदा बिरामीहरू मारमा परेका छन् ।
सोमवारदेखि चिकित्सकहरूले इमर्जेन्सीबाहेकका सबै सेवा ठप्प पारी आन्दोलनमा होमिँदा वीर अस्पतालको ओपिडी सेवा नै बन्द भएपछि बिरामी बिचल्लीमा परेका हुन् ।
नियमित उपचार गर्न आउने बिरामीहरूले ओपिडी सेवा समेत पाउन नसकेको गुनासो गरेका छन् ।
बिरामीको रिपोर्टको आधारमा आवश्यक औषधि लेख्ने चिकित्सक नै ओपिडीमा नभेटिएपछि आफूहरू समस्यामा परेको उनीहरूको गुनासो छ ।
नेपाल चिकित्सक संघको नेतृत्वमा देशभरका चिकित्सकहरू आन्दोलनमा निस्किदा बिरामीहरू मारमा परेका हुन् । उपभोक्ता अदालतको फैसलाविरुद्ध उनीहरू सोमवारदेखि आन्दोलनमा छन् ।
अदालतले केही साताअघि अस्पताल र चिकित्सकविरुद्ध फैसला गरेको थियो । अदालतले तीन अस्पताल र चिकित्सकलाई क्षतिपूर्तिसम्बन्धी फैसला गरेको थियो । त्यो फैसलाले अहिले चिकित्सकहरू आन्दोलित भएका हुन् ।









