व्यवसायीहरु मर्ने र बैंकहरु धनी बन्ने प्रवृत्ति अन्त्य होस् : सांसद तामाङ

काठमाडौं । नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङले व्यवसायीहरू मरिरहेका बेला बैंकहरू मात्रै धनी बन्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताएका छन् ।
आईतवार प्रतिनिधिसभाको अर्थ समितिमा छलफलका क्रममा उनले बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयक (बाफिया) अर्थतन्त्रलाई चलायमान बनाउने गरी निर्माण गर्नुपर्नेमा जोड दिए ।
छलफलमा उठेको सीईओहरूले लगानी गर्न नपाउने प्रस्तावप्रति प्रतिक्रिया दिँदै तामाङले वर्षमा करोडौँ कमाउने व्यक्तिहरूलाई ऋण किन चाहिने भन्दै प्रश्न गरे । उनले भने, ‘सीईओहरूले वर्षमा दुई करोड कमाउनु हुन्छ रे, उहाँलाई ऋण किन चाहियो ?’
उनले बैंकमा थुप्रिएको पैसा बजारमा ल्याएर मात्रै अर्थतन्त्र गतिशील हुने धारणा राखे । त्यसक्रममा उनले एक वर्षभित्र कालोधनलाई वैधानिक बनाउने व्यवस्था गर्न सुझाव दिए । उनले कालोधनको आकार तीन खर्ब रुपैयाँभन्दा बढी रहेको दाबीसमेत गरे ।
सांसद तामाङले ५०० रुपैयाँको नोटमाथि प्रतिबन्ध लगाउनुपर्ने प्रस्ताव पनि राखे । ‘यस्ता नोट कालो कारोबारमा प्रयोग हुने भएकाले यसबारे अर्थ समितिले पहल गर्नुपर्छ,’ उनले भने ।








