पोखरामा डेङ्गी रोकथामका लागि यस्तो छ तयारी

गण्डकी । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हालसम्म ७३ जिल्लामा डेङ्गी रोगको सङ्क्रमण फैलिइसकेको छ ।

महाशाखाले यस वर्ष ६० हजारभन्दा बढीमा डेङ्गी सङ्क्रमण हुने चेतावनीसहित सतर्कताका लागि अनुरोध गरिरहेको छ ।

साउनदेखि कात्तिकसम्म डेङ्गी सङ्क्रमणको जोखिम उच्च रहने भएकाले त्यस पूर्व नै सङ्क्रमण रोकथाम तथा व्यवस्थापनका लागि तीनै तहका सरकारले तयारी सुरु गरिसकेका छन् ।

गत वर्ष डेङ्गी सङ्क्रमणको ‘हटस्पट’ बनेको गण्डकी प्रदेश राजधानी पोखरामा पनि समुदाय स्तरमा सचेतना र अभिमुखीकरण कार्यक्रम सञ्चालन भइरहेका छन् ।

पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक राजेन्द्र रेग्मीले महानगरको लेखनाथ क्षेत्रमा फाट्टफुट्ट डेङ्गीको सङ्क्रमण देखिन सुरु भएको बताए । ‘डेङ्गी सङ्क्रमणको उच्च जोखिम रहने समय नजिक आइरहेकाले रोकथामका उपायबारे समुदायमा अभिमुखीकरणको काम गरिएको छ’, उनले भने, ‘हाल कक्षा ७ देखि १० सम्मका विद्यार्थी, महिला स्वास्थ्य स्वयम्सेवीकालगायतलाई डेङ्गी सङ्क्रमण रोकथामका विषयमा सचेतना प्रदान गरिएको छ ।’

जनस्वास्थ्य निरीक्षक रेग्मीले डेङ्गी परीक्षणका लागि ‘किट’ व्यवस्थापन र स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिका काममा पनि महानगरको स्वास्थ्य महाशाखा लागिरहेको बताए ।

गत वर्ष पोखरा महानगरपालिकामा मात्र आठ हजार ६०० जनाभन्दा बढीमा डेङ्गी सङ्क्रमण भएको थियो । डेङ्गी सङ्क्रमणबाट पोखरामा तीन जनाको मृत्यु भएको थियो ।

त्यसबेला प्रदेश स्वास्थ्य मन्त्रालयले पोखरा डेङ्गी सङ्क्रमणको ‘हटस्पट’ बनेको उल्लेख गरेको थियो । गत वर्ष भदौ पहिलो हप्तादेखि असोज पहिलो हप्तासम्ममा यहाँ छ गुणाले डेङ्गी सङ्क्रमण बढेको थियो ।

महानगरपालिकाले लामखुट्टेको वासस्थान खोज्ने र नष्ट गर्ने अभियान वडा तहदेखि नै सुरु गर्दै आए पनि डेङ्गी रोकथाम चुनौतीपूर्ण बन्दै गएको जनस्वास्थ्य निरीक्षक रेग्मीले बताए । ‘हरेक व्यक्ति, परिवार र समुदाय सचेत नभएसम्म डेङ्गी रोकथाम र नियन्त्रण गर्न कठिन छ । त्यसैले यस वर्ष सबैलाई सचेत रहन आग्रह गरिरहेका छौँ’, उनले भने ।

डेङ्गी फैलाउने लामखुट्टेको टोकाइबाट जोगिन घर, कार्यालय र सार्वजनिक स्थलमा पानी जम्ने खाल्डाखुल्डी, पुराना टायर, ड्रम, भाँडाकुँडा आदिमा पानी जम्मा हुन नदिने र त्यस्ता स्थल भेटिएमा नष्ट गर्न पनि आग्रह गरिएको छ ।

डेङ्गी रोग सार्ने ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेको वासस्थान सबैभन्दा बढी पुराना टायरभित्र जमेको सफा पानीमा रहने गरेको जानकारहरूको भनाइ छ । सफा र जमेको पानीमा उक्त लामखुट्टेले फुल पार्ने र लार्भा हुर्काउने गर्दछ ।

लामखुट्टेको सोही जीवनचक्र खलबल्याउन वासस्थान खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गर्ने गरिएको हो । लामखुट्टेको टोकाइबाट बच्नु नै डेङ्गी नियन्त्रणको उत्तम उपाय भएको धवलागिरि प्रादेशिक अस्पतालका प्रमुख डा किरण तिवारीले बताए ।

उनका अनुसार गत वैशाखयता दुई जना डेङ्गी सङ्क्रमित उक्त अस्पताल आएका छन् । सङ्क्रमितले तुरुन्त परीक्षण गरी आवश्यकताअनुसार उपचार सुरु गर्नुपर्ने डा तिवारीको भनाइ छ ।

डेङ्गीको सङ्क्रमणपछि एक्कासि उच्च ज्वरो आउने, रक्तस्राव हुने, टाउको, शरीर दुख्नेजस्ता लक्षण देखा पर्ने उनले बताए । सङ्क्रमण जटिल बनेर मानिसको मृत्युसमेत हुनसक्ने भएकाले डेङ्गीलाई सामान्य रूपमा नलिन अस्पताल प्रमुख डा तिवारीको आग्रह छ ।

‘डेङ्गी सङ्क्रमण हुँदैमा आत्तिहाल्नु पर्दैन र अधिकांश डेङ्गी सङ्क्रमित सामान्य उपचारपछि निको हुने गरेका छन् । सङ्क्रमणपछि बान्ता भइरहने, नाकबाट रगत आउने, कालो दिसा हुने, थकानजस्ता लक्षण देखिएमा भने चिकित्सकको विशेष निगरानीमा उपचार गर्नुपर्ने हुनसक्छ’, प्रमुख डा तिवारीले भने, ‘डेङ्गी भएमा आराम गर्ने, झोलिलो पदार्थ प्रशस्त पिउने र जथाभावी औषधि सेवन गर्न हुँदैन । अधिकांश डेङ्गी सङ्क्रमित सामान्य उपचारपछि निको हुने गरेका छन् । प्रमुख चिकित्सक तिवारीले बताए।’ गर्भवती र बालबालिकामा डेङ्गीको सङ्क्रमण भएमा स्वास्थ्यमा जटिलता निम्तनसक्ने खतरा हुने हुँदा उच्च सावधानी अपनाउन उनको आग्रह छ ।

गत वर्ष कास्की, तनहुँलगायत जिल्ला डेङ्गी सङ्क्रमणबाट बढी प्रभावित बनेका थिए । असारदेखि कात्तिकसम्म डेङ्गीको सङ्क्रमण बढी फैलने गर्छ । समयमा जोखिम न्यूनीकरण र नियन्त्रण गर्न नसके डेङ्गीले महामारीको रूप लिनसक्ने जनस्वास्थ्य निरीक्षक रेग्मीले बताए । जनघनत्व बढी भएका ठाउँमा डेङ्गी छिटो फैलने हुँदा सहरी क्षेत्रमा विशेष सावधानी अपनाउनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 16 =