कलाकार ‘अप्सरा आमा’को पशुपतिमा अन्त्येष्टि

काठमाडौं । लोकप्रिय टेलिशृंखला ‘मेरी बास्सै’मा ‘अप्सरा आमा’ को जीवन्त भूमिकाबाट दर्शकको मनमा बस्न सफल वरिष्ठ कलाकार लक्ष्मी श्रेष्ठ अब हामीमाझ रहिनन् । लामो समयदेखि क्यान्सरसँग जुधिरहेकी उनको शुक्रबार राति काठमाडौंको कपन, बालुवाखानीस्थित आफ्नै निवासमा निधन भएको हो ।
शनिबार बिहान पशुपति आर्यघाटमा उनको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरियो । उनको पार्थिव शरीरलाई राष्ट्रिय झन्डा ओढाएर कला क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको थियो । आर्यघाटमा उनको अन्तिम बिदाइका लागि चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, वरिष्ठ कलाकारहरू रामचन्द्र अधिकारी, दीपकराज गिरी, दीपकप्रसाद आचार्य (दीपा), सुशीला निरौला ‘बिमली’, गायिका राधिका हमाललगायत कलाकर्मी तथा शुभचिन्तकहरूको बाक्लो उपस्थिति थियो ।
उनीहरुले भावुक हुँदै श्रेष्ठको निधनले नेपाली कला क्षेत्रमा अपूरणीय क्षति पुगेको बताए । विगत चार महिनादेखि क्यान्सरसँग साहसिक सङ्घर्ष गरिरहेकी श्रेष्ठलाई दसैँताका स्वास्थ्यमा समस्या देखिएपछि भक्तपुर क्यान्सर अस्पतालमा भर्ना गरिएको थियो । तर, स्वास्थ्यमा सुधार आउन नसकेपछि करिब एक महिनाअघि अस्पतालले उपचार सम्भव नभएको जानकारीसहित घर फर्काएको थियो । त्यसयता उनी घरमै आराम गरिरहेकी थिइन् ।
‘मेरी बास्सै’मा सीताराम कट्टेल (धुर्मुस)ले निर्वाह गरेको ‘खड्काजी’ पात्रको श्रीमती ‘अप्सरा आमा’को भूमिकामा उनको अभिनयलाई दर्शकले निकै रुचाएका थिए । आफ्नो छुच्चो तर रमाइलो स्वभाव र खड्काजीसँगको नोकझोकले भरिएको उनको चरित्रले ‘मेरी बास्सै’लाई लोकप्रिय बनाउन महत्त्वपूर्ण भूमिका खेलेको थियो । यो जोडी टेलिभिजन दर्शकमाझ एउटा मानक नै बनेको थियो ।








