गृहमन्त्री लेखकसमक्ष बैतडीको शान्ति सुरक्षा र विपद् व्यवस्थापनबारे ‘ब्रिफिङ’

बैतडी । गृहमन्त्री रमेश लेखकले बैतडीको शान्ति सुरक्षा र विपद् व्यवस्थापनबारे जानकारी लिएका छन् ।
बिहीबार जिल्ला प्रशासन कार्यालय पुगेर शान्ति सुरक्षा र विपद् व्यवस्थापनबारे जानकारी लिएसँगै गृहमन्त्री लेखकले जिल्लास्थित सम्बद्ध अधिकारीहरूलाई आवश्यक निर्देशनसमेत दिए ।
गृहमन्त्री लेखकलाई जिल्लाको समग्र शान्ति सुरक्षा र विपद् व्यवस्थापनका बारेमा जानकारी गराइएको बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए ।
उनले भने, ‘गृहमन्त्रीलाई जिल्लाको समग्र शान्ति सुरक्षा र विपद् व्यवस्थापनका बारेमा ‘ब्रिफिङ’ गरेका छौंँ। उनले विपद् पूर्वतयारी तथा व्यवस्थापनमा कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभएको छ, सोहीअनुसार तदारुकताका साथ काम हुन्छ ।’
गृहमन्त्री लेखक तीन दिने भ्रमणका लागि बुधवार बैतडी आएका हुन् । जन्म घर बैतडी रहेको गृहमन्त्री लेखकको यहाँ रहँदा पारिवारिक एवं राजनीतिक भेटघाटका साथै प्रसिद्ध त्रिपुरा सुन्दरी मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।








