झाक्री प्रकरण र पतञ्जलि विवादबीच नेकपा एसले बोलायो सचिवालय बैठक

काठमाडौं  । चर्को आन्तरिक विवाद र बाह्य दबाबका बीच नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजे बस्ने गरी बोलाइएको हो ।

बैठकले पार्टीभित्रको अनुशासन र अध्यक्ष माधवकुमार नेपालमाथि लागेको आरोपबारे छलफल गर्नेछ । बैठकको मुख्य एजेन्डा स्थायी कमिटी सदस्य रामकुमारी झाक्रीले अध्यक्ष नेपालविरुद्ध दिएको विवादास्पद अभिव्यक्ति बनेको छ । केही दिनअघि बुटवलमा आयोजित एक कार्यक्रममा झाक्रीले नेतृत्वप्रति कटाक्ष गर्दै ‘मरेको सिनो काँधमा बोकेर हिँड्न सकिँदैन, अध्यक्ष फेरौं’ भनेकी थिइन् । उनको यो अभिव्यक्तिले पार्टीभित्र ठूलो तरंग पैदा गरेको छ ।

पार्टीभित्रैबाट आलोचना भएपछि महासचिव घनश्याम भूसालले जथाभावी अभिव्यक्ति नदिन नेताहरूलाई सचेत गराएका थिए । यसै प्रकरणमा पार्टीको अनुशासन आयोगले झाक्रीलाई तीनदिने स्पष्टीकरण सोधेको थियो, जसको म्याद आजै (बिहीबार) सकिँदैछ ।

पार्टी उपाध्यक्ष जगन्नाथ खतिवडाका अनुसार अनुशासन आयोगले सोधेको स्पष्टीकरण र त्यसपछिको प्रक्रियाबारे बैठकमा छलफल हुन सक्छ । उनले भने, ‘अनुशासन आयोगले उहाँलाई स्पष्टीकरण सोधेको हो । आयोगले यसबारे केही सिफारिस गर्न सक्छ, यद्यपि निर्णय सचिवालयले नै गर्ने भन्ने हुँदैन ।’ 

एकातिर आन्तरिक कलहको व्यवस्थापन गर्नुपर्ने चुनौती छ भने अर्कोतिर पतञ्जलि जग्गा प्रकरणमा अध्यक्ष नेपालमाथि लागेको आरोपले पार्टीलाई बाहिरबाट पनि दबाबमा पारेको छ । उक्त प्रकरण अदालतमा विचाराधीन रहेकाले यसबारे पार्टीले अपनाउनुपर्ने रणनीति र आगामी कदमबारे बैठकमा गम्भीर छलफल हुने उपाध्यक्ष खतिवडाले जानकारी दिए । उनले भने, ‘समसामयिक राजनीतिक अवस्था, पतञ्जलि प्रकरण र अदालतको मुद्दापछिको परिस्थितिबारे छलफल हुनेछ । यसअघि स्थगित भएका पार्टी संगठनसम्बन्धी कार्यसूचीमाथि पनि छलफल अगाडि बढ्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 9 =