कर्णाली विकास बैंक घोटाला : एमाले नेता मिश्र धम्बोझी चोकबाट पक्राउ

नेपालगञ्ज । कर्णाली विकास बैंक घोटाला प्रकरणमा संलग्न रहेको आशंकामा नेकपा (एमाले) का केन्द्रीय सदस्य पशुपति दयाल मिश्रलाई प्रहरीले मंगलबार नेपालगञ्जको धम्बोझी चोकबाट पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले मिश्रलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखेको जानकारी सिआइबीका प्रवक्ता, प्रहरी उपरीक्षक युवराज खड्काले दिएका छन् ।
“बैंक घोटालामा संलग्न भएको आरोपमा मिश्रलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो,” प्रवक्ता खड्काले जानकारी दिए ।
मिश्र वि.सं. २०६६ देखि २०७५ सम्म कर्णाली विकास बैंकको अध्यक्ष रहेका थिए । मधेस आन्दोलनबाट उदाएका मिश्र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा बाँके क्षेत्र नं. २ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सूर्य चिन्ह लिएर चुनाव लडेका थिए, तर पराजित भएपछि एमालेमा प्रवेश गरेका थिए ।
यसअघि बैंकका तत्कालीन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी र संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ परिसकेका छन् । मिश्रसँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या तीन पुगेको छ ।
सिआइबीका अनुसार, उनीहरूविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत मुद्दा दर्ता गरी नेपाल राष्ट्र बैंकको समन्वयमा अनुसन्धान अघि बढाइएको छ ।
कर्णाली विकास बैंकमा अहिलेसम्म झण्डै दुई अर्ब ५० करोड रुपैयाँ बराबरको हिनामिना भएको आरोपमा उजुरी दर्ता भएको थियो ।
बैंक सञ्चालक समिति अध्यक्ष डा. ओमप्रकाश मिश्रको संयोजकत्वमा गठित विशेष छानबिन समितिले ठूलो वित्तीय अनियमितता भएको निष्कर्ष निकालेको थियो ।








