मुक्तिनाथ विकास बैंकद्वारा विभिन्न प्रदेशहरूमा सामाजिक उत्तरदायित्व अन्तरगत कार्यक्रम सम्पन्न

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य र नागरिक सुविधासँग जोडिएका कार्यक्रमहरू विभिन्न प्रदेशमा सम्पन्न गरेको छ ।
बैंकले सुदूरपश्चिम प्रदेशको डोटी जिल्लामा शिक्षा प्रवद्र्धनका लागि पूर्व चौकी गाउँपालिका–५ स्थित श्री नव प्रभाव आधारभूत विद्यालयमा अध्ययनरत ८७ जना छात्रछात्रालाई विद्यालय पोशाक वितरण गरेको छ ।
बैंकले विद्यालय पोशाक वितरणले विद्यार्थीमा उत्साह र अध्ययनप्रति सकारात्मक असर पर्ने विश्वास लिएको जनाएको छ ।
स्वास्थ्य सेवाको पहुँच र सुविधा सुधार गर्न कर्णाली प्रदेशको बिरेन्द्रनगर–०४, सुर्खेतस्थित प्रदेश अस्पताल सुर्खेतमा १० थान व्हीलचेयर प्रदान गरिएको छ ।

बैंकका अनुसार यो सहयोगले बिरामी, जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूको आवतजावत सहज हुने अपेक्षा गरिएको छ ।
त्यसैगरी, कोशी प्रदेशको धनकुटा जिल्ला अस्पतालमा बिरामी तथा कुरुवाका लागि ७ थान तीन सिटर कुर्सीहरू पनि बैंकले हस्तान्तरण गरेको छ ।
बैंकले एक विज्ञप्ति जारी गर्दै सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै स्वास्थ्य, शिक्षा, वातावरण तथा वित्तीय साक्षरताका क्षेत्रमा निरन्तर योगदान दिँदै आएको जनाएको छ ।
बैंकले यस्ता कार्यक्रम आगामी दिनमा झन् प्रभावकारी र व्यापक रूपमा सञ्चालन गर्दै लैजाने प्रतिबद्धता समेत जनाएको छ ।








