राज्य व्यवस्था समितिको सदस्य हुँ भन्न पनि लाज लाग्छ : सांसद घिमिरे

काठमाडौं । कुलिङ पिरियडसम्बन्धी चलखेल प्रकरणमा नेकपा एमाले सांसद वासुदेव घिमिरेले राज्य व्यवस्था तथा सुशासन समितिको सदस्य हुँ भन्न पनि लाज लाग्न थालेको बताएका छन् । बुधबार सिंहदरबारमा बसेको समितिको बैठकमा बोल्दै उनले संसदप्रति जनविश्वास गुम्ने गरी काम भएको भन्दै गम्भीर असन्तुष्टि व्यक्त गरे ।

‘नागरिकबाट यति धेरै गालीको वर्षा भएको छ, अब समितिको सदस्य हुँ भन्न पनि लाज लाग्छ,’ सांसद घिमिरेले भने, ‘यो सामान्य खालको घटना होइन, सिंगो संसदको अवहेलनाको काम भएको छ ।’

उनले कुलिङ पिरियडलाई लिएर भएको जालझेल र प्रक्रियाविपरीतको हेरफेरले सांसदहरूलाई नै जनतासामू अपमानित बनाएको उल्लेख गरे । ‘सांसदहरूले छलकपट गरेर ऐन पारित गरेको भन्ने आरोप आम नागरिकबाट आइरहेको छ,’ उनले भने, ‘यसले हाम्रो नै बेइज्जत गरिरहेको छ ।’

दुई वर्षको कुलिङ पिरियड हटाउने चलखेलमा संलग्न रहेका व्यक्तिहरूमाथि छानबिन हुनुपर्ने माग गर्दै घिमिरेले अधिकार सम्पन्न छानबिन समिति गठन गर्नुपर्ने धारणा राखे ।

‘भैलो खेल्न गएका भनेर टिप्पणी भइरहेका छन्,’ उनले भने, ‘कुलिङ पिरियड हटाउनु हुँदैन भनेर जो–जो भैलो खेल्न गएका थिए, उनीहरू सबै अनुसन्धानको दायरामा आउनुपर्छ ।’

यसअघि कांग्रेस सांसद हृदयराम थानी र एमालेकै पदम गिरीले पनि सो प्रकरणबारे कडा असन्तुष्टि व्यक्त गर्दै समिति सभापति र सचिवको राजीनामा र कारबाहीको माग गरिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 6 =