हिमतालको जोखिम घटाउन जिसिएफको पाँच अर्ब अनुदान

काठमाडौं । नेपालले जोखिममा रहेका चार हिमतालको सतह घटाउनका लागि करिब पाँच अर्बको अनुदान पाउने भएको छ ।

आज हरित जलवायु कोष (जिसएफ) को पोपुआ निउगिनीको राजधानी पोर्ट मोरिस्बीमा बसेको ४२ औँ बोर्ड बैठकले नेपालबाट पेस भएको ‘हिमाली जलाधारमा हुने जलवायुजन्य पहिरो र हिमताल विष्फोटको जोखिमबाट धनजनको रक्षा’ शीर्षकको परियोजना स्वीकृत गरेको हो ।

बैठकमा भाग लिन पोर्ट मोरिस्बीमा पुगेका अतिकम विकसित मुलुकहरूको समूह (एलडिसि) को तर्फबाट जिसिएफको वैकल्पिक बोर्ड सदस्य डा सिन्धुप्रसाद ढुङ्गानाले यस परियोजनमा हरित जलवायु कोषबाट तीन करोड ६२ लाख अमेरिकी डलर अर्थात् करिब पाँच अर्ब रुपैयाँ अनुदान प्राप्त हुने निर्णय भएको पुष्टि गरे ।

‘विकसित मुलुकबाट १२ र विकासशील मुलुकबाट १२ गरी कूल २४ सदस्य हुने बोर्डमा कुनै प्रस्ताव मतदानबाट र कतिपय प्रस्तावहरू बोर्ड सदस्यहरूकाबीच व्यापक छलफलपछि मात्र स्वीकृत भएका थिए । तर नेपालको प्रस्ताव भने सर्वसम्मतिले स्वीकृत भएको थियो,’ उनले भने, ‘यसबाट कोष र बोर्डको नेपालप्रति सदस्यता रहेको प्रष्टै देखिन्छ । नेपालको राष्ट्रिय अनुकूलन योजनामासमेत गम्भीरतापूर्वक राखिएको हिमताल विष्फोटको जोखिममा यस्ता दर्जनौंँ अरु परियोजनाको खाँचो छ ।’

ढुङ्गानाले करिब सात वर्ष लगाएर तयार गरिएको यो परियोजनाको कार्यान्वयनबाट हिमताल विष्फोटको जोखिमबाट नेपाल जोगाउने उपायका लागि नमुना सिद्ध हुने अपेक्षा गर्न सकिने बताए । उनका अनुसार कोषको ४२ औंँ बैठकमा कूल १९ प्रस्ताव पेस भएकामा नेपालसहित १७ वटा प्रस्ताव पारित भएका छन् ।

त्यसैगरी यस परियोजनमा नेपाल सरकार, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडिपी), स्वतन्त्र ऊर्जा उत्पादक सङ्घले एक करोड ३८ लाख अमेरिकी डलर सहलगानी गर्ने प्रतिबद्धता जनाएका छन् । यो परियोजना नेपाल सरकारको तर्फबाट कोषको सम्बन्धन प्राप्त निकायको रूपमा युएनडिपीले पेस गरेको हो ।

यूएनडिपीका प्रवक्ता क्याको योकोसुकाले सात वर्षे उक्त परियोजना जल तथा मौसम विज्ञान विभागको नेतृत्वमा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमसँगको साझेदारीमा लागू हुने जानकारी दिए । ‘यसले कोशी र गण्डकी नदी प्रणालीमा पर्ने करिब २२ लाख जनसङ्ख्यालाई प्रत्यक्ष लाभ पुर्‍याउनेछ,’ उनले भने, ‘यस परियोजनाअन्तर्गत उच्च जोखिमयुक्त चार वटा हिमतालको सतह घटाइने, पूर्व सूचना प्रणाली विस्तार गरिने, नदी किनारामा १५० हेक्टरभन्दा बढी क्षेत्रमा वन रोपणसहित प्राकृतिकमार्फत संरक्षण गरिने र विपद् पूर्व तयारी र जलवायु सहनशीलता अभिवृद्धि गरिने योजना रहेको छ ।’ नेपालले यसअघि सोलुखुम्बुको इम्जा तालमा ३ दशमलव ४ मिटर पानीको सतह नियन्त्रणपूर्वक घटाएर सफलतापूर्वक सम्भावित विपद् टार्न सफल भएको थियो ।

अनुभवलाई यस परियोजनाले थप व्यापक बनाउने यूएनडिपीको विश्वास छ । हिमालय क्षेत्रमा तापमान तीव्र रूपमा बढ्दै गएको सन्दर्भमा यो परियोजना तत्कालीन आवश्यकतालाई सम्बोधन गर्नुका साथै दीर्घकालीन दूरदृष्टिमा आधारित जलवायु कार्यलाई सहयोग गर्ने भन्दै जलवायु अभियन्ता उत्साहित देखिएका छन् ।

वैज्ञानिक आधार, सरकारको नेतृत्व र अन्तर्राष्ट्रिय सहकार्यको बलमा अघि बढाइएको यस अभियानले नेपाललाई जलवायु सहनशील देशको रूपमा स्थापित गर्न महत्त्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ ।

परियोजनाले विशेष गरी नेपालका हिमाली क्षेत्रका नदी बेसिनमा जलवायु परिवर्तनका कारण उत्पन्न उच्च जोखिमलाई सम्बोधन गर्ने, हिमतालबाट सम्भावित बाढी व्यवस्थापन र तीव्र हिमाल क्षेत्रीय जलवायु प्रभावका कारण उत्पन्न हुने प्राकृतिक प्रकोपबाट स्थानीय समुदायको जीविका, संरचना तथा पूर्वाधारको सुरक्षा गर्नु लक्ष्य रहेको छ ।

सरकार, विकास साझेदार, विज्ञ तथा सरोकारवालाको दीर्घ प्रयासपछि परियोजना स्वीकृति भएकोमा सबै सरोकारवालालाई बधाई तथा धन्यवाद दिइएको छ ।

यो सफलता नेपालको जलवायु न्याय र अन्तर्राष्ट्रिय सहयोग दातासँगको प्रभावकारी साझेदारीको प्रमाण स्वरूपसमेत हेरिएको छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र युएनडिपी को ‘इन्भेन्टोरी अफ ग्ल्यासियर लेक्स इन द कोशी, गण्डकी एण्ड कर्णाली रिभर बेसिन्स अफ नेपाल एण्ड तिब्बत्, चाइना’ शीर्षकको अध्यायन प्रतिवेदनले नेपाल, भारत र चीनमा अवस्थित ४७ ओटा हिमताल फुट्न सक्ने बताएको छ ।

युएनडिपि र इसिमोडले संयुक्त रूपमा गरेको उक्त अध्यायन प्रतिवेदनले नेपाल, भारत र चीनमा पर्ने ४७ हिमताल खतरायुक्त तहमा पुगेको उल्लेख छ । यी हिमताल जुनसुकै बेलामा पनि फुट्नसक्ने र नेपालले ठूलो धनजनको क्षति बेहोर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

उक्त अध्ययन अनुसार यीमध्ये २५ वटा चीनमा, २१ नेपाल र एउटा भारतमा पर्छ । तीनमध्ये केही अत्यन्त संवेदनशील मानिएका छन् जसले ठूलो मात्रामा जनधनको क्षति गराउने सम्भावना रहेको अध्ययनले देखाएको छ ।

प्रतिवेदनले जोखिममा रहेका हिमताल फुट्दा नेपालले विलियन डलरभन्दा बढी वित्तीय क्षति बेहोर्नुपर्ने र ठूलो मानवीय क्षति पनि गर्न सक्ने उल्लेख गरेको छ । प्रतिवेदनले क्षति न्यूनीकरणका लागि आवश्यक पूर्व तयारीका कार्यक्रम तय गर्न पनि सुझाव दिएको छ ।

यस्तो अवस्थामा यो परियोजना नेपालको जलवायु अनुकूलन प्रयासमा ठूलो कोसेढुङ्गा साबित हुने विश्वास लिइएको छ । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले नेपालभित्र जोखिममा रहेका २१ ओटा हिमताल जति पनि बेला फुट्न सक्ने र यसले ठूलो जोखिम निम्ताउन सक्ने खतरा रहेको बेलामा जिसिएफको अनुदानले जोखिम व्यवस्थापनका लागि सहयोग गर्ने भन्दै यो नेपालको लागि ठूलो उपलब्धि रहेको टिप्पणी गरे ।

‘यस्ता जोखिममा रहेका हिमतालका जोखिम न्यूनीकरणका लागि नेपाल सरकारले खर्च व्यवस्थापन गर्न नसकिरहेको बेलामा अनुदान प्राप्त गर्नु हाम्रो लागि ठूलो सफलता हो । जिसिएफमा पहुँच पुग्नु पनि नेपालका लागि राम्रो भयो,’ उनले भने, ‘उक्त अनुदानले चार ओटा हिमतालको जोखिम घटाउन सहयोग गर्ने भयो । अब बाँकी रहेका हिमतालको जोखिम घटाउनका लागि कसरी अगाडि बढ्ने भनेर योजना बनाउन पनि सहयोग हुने भयो ।’ जोशीले भारत र चीनभित्र जोखिममा रहेका हिमताल फुट्दा नेपाललाई पनि असर पुग्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =