बजेट सन्तुलित, यथार्थपरक र किसानमैत्री छैन : वेदुराम भुसाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सांसद डा. वेदुराम भुसालले आगामी आर्थिक वर्षको बजेट सन्तुलित, यथार्थपरक र किसानमैत्री नभएको टिप्पणी गरेका छन् ।
मंगलबार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद भुसालले मन्त्रालयगत र क्षेत्रगत हिसाबले बजेट असन्तुलित रहेको बताए । उनले कृषिलाई मुलुकको अर्थतन्त्रको मेरुदण्ड भनिए पनि बजेटमा त्यसको उचित प्राथमिकता नदिइएको भन्दै असन्तुष्टि जनाए ।
उनले भने, ‘बजेटमा घाटाको अनुपात बढ्दै गएको छ । हामीले घाटाको बजेट बनाउन थालेको २०२८ सालदेखि हो । २०२७ सालको बजेटमा हाम्रो केही करोड रुपैयाँ बचत थियो । आर्थिक वर्ष २०२८/०२९ को बजेटमा ११.८१ प्रतिशत घाटा थियो । त्यो बढ्दै गएर आर्थिक वर्ष २०८०/८१ मा २५.८५ प्रतिशतमा पुग्यो। र अहिले ३०.३२ प्रतिशतमा पुगेको छ । यसले देखाउँछ, हामीले प्रत्येक वर्ष घाटाको अनुपात बढाउँदै गएका छौँ । अब कसरी यस बजेटलाई यथार्थपरक भन्ने ? प्रश्न उठिरहेकै छ ।’
भुसालले बजेटमा चित्त बुझाउने ठाउँ नरहेको भन्दै मन्त्रालयगत र क्षेत्रगत रूपमा विनियोजन असन्तुलित भएको स्पष्ट पारे । ‘दोस्रो कुरा, यो विनियोजन पनि सन्तुलित छैन । मन्त्रालयगत हिसाबले पनि सन्तुलित छैन, क्षेत्रगत हिसाबले पनि सन्तुलित छैन। सबैभन्दा चित्त दुख्ने के भने यो विनियोजन किसानमैत्री छैन,’ उनले भने ।
उनले कुल गार्हस्थ्य उत्पादनको मुख्य संवाहक कृषि क्षेत्र हुँदाहुँदै बजेटमा उपेक्षा गरिएकोप्रति आपत्ति जनाए ।








