कुलिङ पिरियडमा शब्दको चलखेल गर्नेहरुले राजीनामा दिनुपर्छ : पदम गिरी

काठमाडौं । नेकपा एमालेका सांसद पदम गिरीले ‘कुलिङ पिरियड’ सम्बन्धी विधेयकमा संसदमा प्रस्तुत गरिँदा गरिएको शब्द फेरबदल (चलखेल) प्रति आपत्ति जनाएका छन् ।

मंगलवार सिंहदरबारमा सभामुख देवराज घिमिरेसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गिरीले समितिबाट निष्कर्षमा पुगिसकेपछि सहमतिका आधारमा पारित भएको विधेयकमा षड्यन्त्रपूर्वक शब्द हेरफेर गरिएको दाबी गरे ।

‘निष्कर्षमा पुगिसकेपछि जे सहमति भएको हो, त्यो जस्ताको तस्तै जानुपथ्र्यो’, गिरीले भने, ‘संसदमा पेश भएर पास हुनुपथ्र्यो। तर यहाँ षड्यन्त्र भयो । यो अत्यन्तै गलत काम हो ।’

उनका अनुसार विधेयकको मस्यौदा तयार पार्ने क्रममा ‘संवैधानिक, कूटनीतिक वा सरकारले गर्ने अन्य कुनै नियुक्ति बाहेक’ भन्ने शब्द समावेश गरिएको भए पनि समितिबाट पास भएको मस्यौदामा उक्त शब्द हटाइएको थियो । तर प्रतिनिधिसभामा पेश हुँदा पुनः त्यही शब्द घुसाइएको पाइएको गिरीको आरोप छ ।

‘समितिबाट पास गर्दा बाहेक भन्ने शब्द थिएन’, गिरीले भने, ‘तर प्रतिनिधि सभामा पुग्दा त्यो शब्द पुनः राखिएको पाइएको छ । यसमा गम्भीर षड्यन्त्र भएको छ ।’

उनले छानबिन नभएसम्म राज्य व्यवस्था तथा सुशासन समितिको बैठक अघि नबढ्ने पनि चेतावनी दिए । ‘अब छानबिन नहुँदासम्म बैठक अघि बढ्दैन’, उनले भने, ‘यसमा जो–जो जिम्मेवार छन्, उनीहरूले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ । कारबाहीको सामना गर्नुपर्छ ।’

सरकारले फागुन २०८० मा संसदमा दर्ता गराएको विधेयकमा सरकारी स्वीकृति बिना सेवाबाट अवकाश लिएपछि दुई वर्षसम्म निजी वा गैरसरकारी क्षेत्रमा नियुक्ति लिन नपाइने व्यवस्था गरिएको थियो । तर यसले संवैधानिक र कूटनीतिक नियुक्तिमा रोक नलगाउने स्पष्ट व्यवस्था थियो । गिरीले भने प्रतिनिधि सभामा पेश गरिँदा उक्त प्रावधानमा फेरबदल गरिएको भन्दै आपत्ति जनाएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 6 =