संसदीय प्रणालीमाथि पटक–पटक प्रहार भएको छ : मन्त्री चौरसिया

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपालमा संसदीय प्रणालीमाथि पटक–पटक प्रहार हुँदै आएको बताएका छन् ।
सोमवार संसद सेवा दिवसको अवसरमा बानेश्वरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौरसियाले लोकतान्त्रिक व्यवस्थाको जग संसदमै रहेको उल्लेख गरे ।
‘नेपालमा कुनै न कुनै कोणबाट संसदीय प्रणालीमाथि पटक–पटक प्रहार भएको छ,’ मन्त्री चौरसियाले भने, ‘राजाबाट सुरु भएको यो हस्तक्षेप, अहिले आएर पनि तानाशाही प्रवृत्तिका अवशेषहरूले संसदीय प्रणालीलाई कमजोर पार्ने प्रयास गरिरहेका छन् ।’
उनले ऐतिहासिक जनआन्दोलनमार्फत स्थापित लोकतान्त्रिक व्यवस्थालाई जोगाउन सबै जिम्मेवार हुनुपर्नेमा जोड दिए । ‘२००७, २०४६, २०६२/६३ को जनआन्दोलनपछि हामीले यो व्यवस्थालाई स्थापना गरेका हौं,’ उनले भने, ‘तर त्यसबेला तानाशाही प्रवृत्तिलाई कारबाही नगर्दा आज पनि ती अवशेषहरू बेला–बेला टाउको उठाइरहेका छन् ।’
मन्त्री चौरसियाले संसदलाई जनताको प्रतिनिधिमूलक सर्वोच्च संस्था भन्दै देशमा सुशासन र पारदर्शी शासन व्यवस्थाका लागि यसले अग्रणी भूमिका खेल्नुपर्ने बताए । ‘सुशासन कायम गर्न, भ्रष्टाचारको अन्त्य गर्न संसदले नेतृत्वदायी भूमिका खेल्नुपर्छ,’ उनले भने, ‘त्यसका लागि सबैले उच्च नैतिक मूल्य र मान्यताका साथ काम गर्नुपर्छ ।’
उनले जनताका अधिकार सुनिश्चित गर्न कतै पनि कमजोरी देखिन नहुने स्पष्ट पारे । ‘संसद जनताद्वारा निर्वाचित जनप्रतिनिधिको संस्था हो, यसले जनताका पक्षमा नतिजा दिनुपर्छ,’ मन्त्री चौरसियाले भने ।








