इजरायल-इरान द्वन्द्वको असर : तेहरानमा जासुसीको आरोपमा व्यापक धरपकड र मृत्युदण्ड

काठमाडौं । इजरायलसँगको हालैको सैन्य द्वन्द्वको पृष्ठभूमिमा इरानले देशव्यापी रूपमा ‘जासुस खोज्ने’ अभियान तीव्र पारेको छ, जसअन्तर्गत इजरायली गुप्तचर एजेन्सीसँग सम्बन्ध रहेको आशंकामा सयौंलाई पक्राउ गरी केहीलाई मृत्युदण्ड दिइएको छ । इरानी अधिकारीहरूले इजरायली एजेन्टहरूले आफ्नो सुरक्षा संयन्त्रमा गहिरो घुसपैठ गरेको दाबी गरेपछि यो कठोर कदम चालिएको हो ।
इरानी अधिकारीहरूका अनुसार, इजरायलका लागि काम गर्ने एजेन्टहरूले उपलब्ध गराएको गोप्य सूचनाका आधारमा द्वन्द्वका क्रममा इरानका उच्च पदस्थ व्यक्तिहरूको हत्या भएको थियो । इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) का वरिष्ठ कमान्डरहरू र आणविक वैज्ञानिकहरूको हत्यामा इजरायलको गुप्तचर एजेन्सी ‘मोसाद’ सँग आबद्ध देशभित्रकै एजेन्टहरू संलग्न रहेको इरानको आरोप छ ।
यी हत्याका घटनापछि आक्रोशित बनेको इरानी सत्ताले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै विदेशी गुप्तचरसँग सम्पर्कमा रहेको आशंकामा जो-कोहीमाथि पनि निगरानी र धरपकड गरिरहेको छ । इरानको गुप्तचर मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आफ्नो देश पश्चिमी र इजरायली गुप्तचर नेटवर्कहरू (सीआईए, मोसाद र एमआई६) विरुद्ध निरन्तर युद्धमा रहेको बताएको छ ।आई
आरजीसीसँग निकट मानिने ‘फार्स न्युज एजेन्सी’ का अनुसार, १३ जुनमा द्वन्द्व सुरु भएयता १२ दिनको अवधिमा इजरायली जासुसी नेटवर्कसँग सम्बन्धित ७०० भन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको छ । द्वन्द्व चलिरहेकै बेला तीन जनालाई जासुसीको आरोपमा मृत्युदण्ड दिइएको थियो भने युद्धविराम घोषणा भएको भोलिपल्ट थप तीन जनालाई सोही आरोपमा फाँसी दिइएको थियो ।
यद्यपि, आलोचकहरूले यसलाई सरकारले आफ्नो असफलता लुकाउन, असहमति दबाउन र नागरिकमाथि नियन्त्रण कडा पार्ने बहाना बनाएको बताएका छन् । मानव अधिकार समूहहरूले इरानमा जबरजस्ती बयान लिने र निष्पक्ष सुनुवाइको अभाव हुने गरेको भन्दै पछिल्लो घटनाक्रमप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् । सरकारी टेलिभिजनहरूले हिरासतमा लिइएका केही व्यक्तिहरूको बयान प्रसारण गरिरहेका छन्, जसमा उनीहरूले इजरायली गुप्तचरसँग सहकार्य गरेको स्वीकार गरेका छन् । मानव अधिकारकर्मीहरूले यी बयानहरू दबाबमा लिइएको हुन सक्ने र थप मृत्युदण्डको खतरा बढेको औंल्याएका छन् ।








