सुरक्षित श्रम आप्रवासन प्रणालीमा नेपाल सबै साझेदारसँग सहकार्य गर्न तयार छ : श्रम सचिव

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. कृष्णहरी पुष्करले इरान–इजरायलबिचको पछिल्लो तनाव र त्यसबाट उत्पन्न आप्रवासन चुनौतीका सन्दर्भमा ग्लोबल कम्प्याक्ट फर माइग्रेसनको कार्यान्वयनमा साझा प्रतिबद्धता अपरिहार्य रहेको बताएका छन् ।

बुधवार सुरक्षित, मर्यादित र व्यवस्थित आप्रवासनका लागि आयोजित एसिया गल्फ कोअपरेशन कन्ट्री र एसिया (जीसीसी) संवादको उद्घाटन सत्रमा बोल्दै सचिव पुष्करले यस्तो बताएका हुन् ।

उनले खाडी मुलुकहरूमा कार्यरत १५ लाखभन्दा बढी नेपाली आप्रवासी श्रमिकबाट प्राप्त रेमिट्यान्सले नेपालको कुल गार्हस्थ्य उत्पादनको करिब २५ प्रतिशत हिस्सा ओगटेको बताए । उनले अबको प्राथमिकता प्रमाण–आधारित नीति संवाद, सीपको पारस्परिक मान्यता, सामाजिक सुरक्षा हस्तान्तरण र प्रवासी श्रमिकको गुनासो समाधान प्रणालीको विकासमा केन्द्रित हुनुपर्नेमा जोड दिए ।

नेपाल सुरक्षित, मर्यादित र नियमित आप्रवासन प्रणाली निर्माणका लागि सबै साझेदारहरूसँग सहकार्य गर्न तयार रहेको सचिव पुष्करले स्पष्ट पारे ।

उनले भने ‘हामीले नियमित आप्रवासनका मार्गहरू केबल विस्तार गर्न होइन, सुरक्षा, समानता र दिगोपनाका साथ गुणस्तरीय बनाउनेतर्फ ध्यान दिनुपर्छ । आप्रवासन बाध्यता होइन, विकल्प हुनुपर्छ । दिगो विकास लक्ष्य, मर्यादित रोजगारी, असमानता न्यूनीकरण र वैश्विक साझेदारी साकार पार्न आप्रवासन व्यवस्थापन अपरिहार्य छ । हाम्रो आजको छलफलले एसिया–जीसीसी क्षेत्र र त्यसपारिको आप्रवासन भविष्यलाई समावेशी, मानवीय र सुरक्षित बनाउने आधार तयार गरोस् ।’

उनले नेपाल क्षेत्रीय श्रम आप्रवासनका लागि स्थापित मञ्चहरू कोलम्बो प्रक्रिया र अबुधावी संवादमा समेत सक्रिय रहेको स्मरण गराउँदै अबको प्राथमिकता सुरक्षित श्रम आप्रवासनसँगै श्रमिकको गुनासो समाधान प्रणाली विकासमा केन्द्रित हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =