संविधान र कानूनबाहिर गएर न्यायाधीश नियुक्ति गरिएको छैन : कानुन मन्त्री

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले स्वतन्त्र सांसद अमरेशकुमार सिंहलाई आफूमाथि लगाएको आरोप प्रमाणित गर्न खुला चुनौती दिएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै मन्त्री चौरसियाले न्यायाधीश नियुक्तिमा कुनै सिण्डिकेट वा दलीय प्रभाव नपरेको दाबी गर्दै सांसद सिंहका आरोपहरू तथ्यविहीन भएको जिकिर गरे ।

सांसद सिंहले मन्त्री चौरसियाले न्यायाधीशहरूलाई फोन गरेर न्याय प्रभावित पार्न खोजेको आरोप लगाउँदै कल विवरण सार्वजनिक गर्न माग गरेका थिए । यसप्रति प्रतिक्रिया दिँदै चौरसियाले आफूले संविधान र कानुनअनुसार मात्र काम गरेको दाबी गरे ।

“न्यायाधीश नियुक्तिमा संविधान र कानूनभन्दा बाहिर गएर केही गरिएको छैन । पार्टीको सिण्डिकेट वा दलीय प्रभावका आधारमा न्यायाधीश नियुक्त गरिएको छैन,” मन्त्री चौरसियाको भनाइ थियो ।

आफूले नैतिकता र चरित्रमा आधारित राजनीतिक जीवन बिताएको बताउँदै मन्त्री चौरसियाले सांसद सिंहप्रति कटाक्ष गर्दै भने, “म कहिले पनि खहरे खोलाजस्तो अनुशासनहिन र उडिरहेको चंगाबाट चुँडिएर रुप र घरमा खसेजस्तो व्यक्तित्व होइन ।”

उनले सांसद सिंहसँग साँच्चिकै प्रमाण भए सार्वजनिक गर्न आग्रह गरे। “मेरो विरुद्ध उहाँसँग कुनै प्रमाण छ भने पेश गर्नुहोस्,” उनले भने ।

मन्त्री चौरसियाले न्याय परिषद्, परामर्श र न्यायाधीश नियुक्तिको विषय आफू नेतृत्व गरेको मन्त्रालयको कार्यक्षेत्रभित्र पर्ने स्पष्ट पारे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 6 =