पाख्रीबासमा चार गाडी एक आपसमा ठोक्किए

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका–५ डिकुरेमा चार वटा गाडी आपसमा ठोक्किँदा मध्य पहाडी लोकमार्गअन्तर्गतको पाख्रीबास–लेगुवा सडक खण्ड अवरुद्ध भएको छ ।

सोमबार बिहान करिब ११ बजेतिर भएको उक्त दुर्घटनामा ट्रक, दुई वटा टिपर र एक इभी गाडी आपसमा ठोक्किएर सडक अवरुद्ध भएको हो ।

अहिलेसम्म सडक खुलाउन नसकिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

भोजपुरबाट काठ बोकेर इटहरीतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ ख ६६१ नम्बरको ट्रकको एक्सल भाँचिएर पछाडि सर्दा दुर्घटना भएको हो ।

ट्रक सर्दै जाँदा प्रदेश १–०२–००१ ख ४८९१ नम्बरको टिपरसँग ठोक्कियो, जसपछि उक्त टिपर पनि सरेर प्रदेश १–०२–००१ ज ४६७८ नम्बरको इभी गाडीमा ठोक्कियो ।

इभी गाडीले पनि पछाडि रहेको प्रदेश १–०२–००१ ख ४८९२ नम्बरको अर्को टिपरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

चार वटै सवारीसाधनमा भौतिक क्षति पुगेको भए पनि मानवीय क्षति भने नभएको प्रहरीले पुष्टि गरेको छ । तर दुर्घटनाग्रस्त गाडीहरूले पूर्ण रूपमा सडक ढाकेकाले सो खण्डमा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ ।

हाल गाडी पन्छाउने र सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + six =