इरानी परमाणु केन्द्रहरूमा हमला गर्न अमेरिकाले प्रयोग गर्‍यो ‘बी-२’ विमान

काठमाडौं । राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाले इरानको फोर्दो, नटान्ज र इस्फहानमा रहेका परमाणु केन्द्रहरूमा बम हमला गरेको बताएका छन् । ट्रम्पले ती हमलाहरू “निकै सफल” भएको जनाउँदै इरानको मुख्य प्रशोधनस्थल फोर्दोमा बमको “फूल पेलोड” खसालिएको समेत बताए । इरानी सरकारी सञ्चारमाध्यमहरूले फोर्दो केन्द्रको एक भाग “शत्रुको आक्रमणमा परेको” जनाएको छ ।

अमेरिकाले शनिवार इरानलाई “कूटनीतिक रूपमा” सम्पर्क गर्दै ती हमला मात्र उसको योजनामा रहेको र “शासनसत्ता परिवर्तनको प्रयासको योजनामा नरहेको” जनाएको थियो । ट्रम्पले आफ्नो सोसल मिडिया ‘ट्रुथ सोसल’मा लेख्दै आफ्ना सबै विमानहरू इरानको हवाई क्षेत्र बाहिर आइसकेको र अमेरिका फर्कँदै गरेको जनाएका छन् । कैयौँ रिपब्लिकनहरूले डोनल्ड ट्रम्पको कदमको समर्थनमा प्रतिक्रिया गरेका छन् भने केही अमेरिकी सांसदहरूले कङ्ग्रेसको स्वीकृति नलिएकोमा ट्रम्प प्रशासनको आलोचना गरेका छन् ।

ट्रम्पको सम्बोधन
हमलालगत्तै टेलिभिजनमार्फत सम्बोधन गर्ने क्रममा ट्रम्पले “इरानका प्रमुख आणविक प्रवर्द्धन केन्द्रहरू पूर्ण रूपमा र पूरै ध्वस्त पारिएको” बताउँदै “इरानले अब शान्ति कायम गर्नुपर्ने” बताए । “यदि उनीहरूले त्यसो गरेनन् भने भविष्यका हमलाहरू निकै ठूला र निकै सहज हुनेछन्,” उनले भने ।

चार मिनेट लामो उक्त सम्बोधनमा ट्रम्पले बेन्जमिन नेतन्याहूलाई बधाई दिँदै आफूहरूले “इजरेलका लागि यस भयानक खतरा” मेट्न “एकसाथ” काम गरेको बताए । “त्यहाँ कि त शान्ति हुनेछ या त इरानका लागि विगत आठदिनमा हामीले देखेभन्दा निकै ठूलो त्रासदी हुनेछ,” इरानलाई थप चेतावनी दिँदै ट्रम्पले भने ।

“याद रहोस्, धेरै निशानाहरू बाँकी छन् । आजको रात अहिलेसम्मकै सबैभन्दा कठिन र सायद सबैभन्दा घातक समेत थियो। तर यदि शान्ति चाँडै आएन भने हामी अन्य ती निशानाहरूमा सटिक रूपमा, छिटै र कुशलतापूर्वक जानेछौँ ।”

इजरेलमा कडा सुरक्षा व्यवस्था
अमेरिकी हमलासँगै इजरेली सेनाले देशमा सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ। जसमा भेलाहरूमा प्रतिबन्ध र विद्यालय तथा कार्यालयहरू बन्द गर्ने समावेश छन् । अमेरिकी हमलाप्रति प्रतिक्रिया जनाउँदै इजरेल वासिङ्टनसँग “पूर्ण समन्वय” मा रहेको इजरेली सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले इरानमा आक्रमण गर्ने राष्ट्रपति ट्रम्पको कदमलाई ‘साहसिक निर्णय’ बताउँदै त्यसको प्रशंसा गरेका छन् । उनले एक भिडियो सन्देशमार्फत यस अमेरिकी हमलाले इतिहास बदल्ने बताएका छन् ।

‘बी-२ विमान प्रयोग’
ती इरानी परमाणु केन्द्रहरूमा हमलाका लागि अमेरिकी लडाकु विमान बी-२ बमर प्रयोग गरिएका भनिएका विवरणहरू आएका छन् । ती ठूला जेटहरू इरानको जमिनमुनि रहेका परमाणु केन्द्रसम्म पुग्न सक्ने अस्त्र बोक्न सक्षम विमान मानिन्छन् ।

ती विमानले बोक्ने अस्त्र साठी मिटरसम्मको गहिराइमा विस्फोट हुनुभन्दा पहिले जमिनमुनि रहेका लक्ष्यहरू छेड्नेगरी बनाइएका छन् । यसअघि अमेरिकी सेनाले आफ्ना बी-२ स्टिल्थ बमवर्षकहरूलाई प्रशान्त महासागरमा रहेको अमेरिकी टापु क्षेत्र गुआममा सारेको थियो । त्यससँगै वासिङ्टन इजरेल र इरानबीचको द्वन्द्वमा प्रत्यक्ष रूपमा संलग्न हुने योजना बनाइरहेको हुनसक्ने बारे प्रश्नहरू उठेका थिए । -बीबीसी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =